तपाईँ सुन्दै हुनुहुन्छः

‘सेवा महानिर्देशनालयले नेपाली सेनाको क्षमता अभिवृद्धिमा महत्वपूर्ण भूमिका निर्वाह गरेको छ’

काठमाडौँ । उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले सुन्दरीजलस्थित सैनिक सामग्री उत्पादन तथा यान्त्रिक सेवा महानिर्देशनालयले नेपाली सेनाको क्षमता अभिवृद्धिमा महत्वपूर्ण भूमिका निर्वाह गरेको बताउनुभएको छ ।

आज नेपाली सेना बहु व्यवसाय उद्योग(जुत्ता कारखाना, श्री सुन्दरीजल आर्शनल कार्यालय र श्री सुन्दरीजल मिनरल वाटर प्लान्टमा निरीक्षणका क्रममा उहाँले यस क्षेत्रमा कार्यरत सैनिक तथा गैह्र सैनिक सकल दर्जाको योगदानको प्रशंसा गर्नुभयो । साथै, हाल भइरहेका कामलाई अझ प्रभावकारी ढङ्गबाट सम्पादन गर्न तल्लीन रहन र नेपाली सेना तथा सम्बन्धित कार्यालय परिवारलाई उत्कृष्ट कार्यसम्पादनका लागि शुभकामना समेत दिनुभयो ।

सुन्दरीजल आर्सनल कार्यालय, जुत्ता कारखाना र सुन्दरीजल मिनरल वाटर प्लान्टको स्थापनाले नेपाली सेनाको बन्दोबस्ती क्षमता अभिवृद्धि गर्नुका साथै अत्यावश्यक सैनिक सामग्रीहरु उत्पादनमा आत्मनिर्भरता हासिल गर्न महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने उहाँको भनाइ थियो ।

नेपाली सेनाले हालसम्म प्रयोगमा ल्याइरहेको डिएमएस बुटको साटो अन्तर्राष्ट्रिय मापदण्ड अनुसार बुट उत्पादन गर्ने लक्ष्य अनुरुप ओरिजिनल फूटवेयर लिमिटेड लायविलिटी कम्पनी (एलएलसी) अमेरिकी कम्पनीबाट ओरिजिनल स्पेसल विपन्स एण्ड ट्याक्टिस बुटको ट्रेडमार्क तथा प्रविधि लिई गुणस्तरीय बुट उत्पादन गर्ने उद्देश्यका साथ स्थापना भएको जुत्ता कारखानाले ठूलो परिमाणमा उत्पादन सुरु गरिसकेको कुरा प्रसन्नताको विषय भएको उहाँले बताउनुभयो ।

आधुनिक प्रविधिबाट बुट उत्पादन गर्न सक्ने क्षमता हुँदा हुँदै पनि पर्याप्त जनशक्ति, तालिम र बजेटको कमीले प्लान्टलाई पूर्ण क्षमतामा सञ्चालन गर्न कठिनाइ देखिएको भन्दै उहाँले यी समस्या तथा चुनौतीहरूको निराकरणका लागि नेपाल सरकारको तर्फबाट आवश्यक पहल हुनेछ उहाँको भनाइ थियो ।

सो अवसरमा उहाँले संवेदनशील क्षेत्रमा काम गर्ने जनशक्ति भएको हुँदा आफ्नो व्यक्तिगत सुरक्षालाई ध्यान दिँदै व्यवसायीक तवरले देश, जनता र आफ्नो सङ्गठनको हितलाई ध्यानमा राखेर काम गर्न पनि सकलदर्जालाई आग्रह गर्नुभयो।

निरीक्षणमा प्रधान सेनापति प्रभुराम शर्मा, रक्षा सचिव किरणराज शर्मा लगायत सहभागी हुनुभएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button