यातायात व्यवस्था कार्यालय चितवनद्धारा ४६ करोड राजश्व सङ्कलन

चितवन । यातायात व्यवस्था कार्यालय चितवनले ६ महिनाको अवधिमा करिब ४६ करोड आम्दानी गरेको छ । चालु आर्थिक बर्ष २०८०/८१को साउन देखि पुस महिनाको अवधिमा ४५ करोड ८६ लाख २९ हजार ४४८ रुपैंया राजश्व सङ्कलन भएको हो ।
कार्यालयले चालक अनुमतिपत्र, सवारी किताब सम्बन्धी दस्तुर, सवारी साधन कर, प्रशासनिक दण्ड र जरिवाना जफत , यातायात क्षेत्रको आम्दानी, बेरुजु र अन्य प्रशासनिक सेवा शुल्क शीर्षकबाट राजश्व सङ्कलन गर्दै आएको छ । जसअनुसार कार्यालयले सबै भन्दा बढी सवारी साधन करबाट ३४ करोड ३१ लाख ४९ हजार ४२१ रुपैंया र सबैभन्दा कम बेरुजु शीर्षकबाट पांँचसय रुपैंया सङ्कलन भएको छ ।
यसैगरी चालक अनुमतिपत्र, सवारी किताब सम्बन्धी दस्तुर शीर्षक बाट ९ करोड ६४ लाख ७५ हजार ४७७ रुपैंया, प्रशासनिक दण्ड जरिवाना जफत शीर्षकबाट २ लाख ३० हजार २७० रुपैंया, यातायात क्षेत्रको आम्दानी १ करोड ८७ लाख ३६ हजार ३८० रुपैंया र अन्य प्रशासनिक सेवा शुल्कबाट ३७हजार ४०० रुपैंया सङ्कलन गरेको कार्यालयले जानकारी दिएको छ ।
कार्यालयका सूचना अधिकारी गोविन्द प्रसाद पौडेलले सबै शीर्षकमा राजश्व सङ्कलन सन्तोषजनक रहेको बताउनु भयो । कार्यालयले विगतका वर्षहरुमा चालक अनुमतिपत्र नवीकरणको मात्र राजश्व सङ्कलन गर्दै आएपनि चालु आवबाट नयाँ चालक अनुमतिपत्र वितरणको व्यवस्था गरेकोले राजश्व सङ्कलनमा थप वृद्धि भएको पौडेलको भनाई छ ।
‘अघिल्लो बर्ष नवीकरण मात्र हुन्थ्यो, अहिले नयाँ लाइसेन्स वितरण पनि यहीबाट हुन्छ, उहाँले भन्नुभयो , यहाँ सेवा लिन छिमेकी जिल्लाबाट पनि सेवाग्राही आउंँछन । यसले राजश्व सङ्कलन पनि बढेको छ ।’ कार्यालयले यो चालु आवमा ७० करोडको राजश्व सङ्कलन लक्ष्य लिएको समेत उहाँले जानकारी दिनुभयो ।








प्रतिक्रिया राख्नुहोस्