रेडियो नेपाललाई सहयोग गर्न प्रदेश सरकार प्रतिबद्ध छ : मन्त्री मास्की

दाङ । लुम्बिनी प्रदेश सरकारका अर्थमन्त्री धनबहादुर मास्कीले आज रेडियो नेपाल लुम्बिनी प्रादेशिक प्रसारण कार्यालय दाङको निरीक्षण तथा अवलोकन गर्नुभएको छ ।
मन्त्री कास्कीले कार्यालयको निर्माणाधीन नयाँ भवन, स्टुडियो, ट्रान्समिटर कक्ष र समाचार तथा कार्यक्रम कक्षको अवलोकन गर्दै यहाँबाट भइरहेका कामहरूको बारेमा जानकारी समेत लिनुभयो ।
उहाँले राज्यको प्रमुख माध्यम नै रेडियो नेपाल भएकाले सूचना र प्रविधिको विकास नहुँदाको समयमा रेडियो नेपालको महत्त्वपूर्ण योगदान रहेको बताउनुभयो ।
राज्यको सूचना जस्ताको त्यस्तै प्रसारण गर्नमा ठुलो भूमिका रेडियो नेपालले खेलेको पनि उहाँले स्मरण गर्नुभयो । प्रदेश सरकारले पनि रेडियो नेपाललाई व्यवस्थित गर्ने योजना अनुसार नै नीतिगत व्यवस्था गरेको मन्त्री मास्कीले बताउनुभयो ।
उहाँले सानो भवनमा सीमित स्रोत साधनबीच पनि व्यवस्थित गरेर कार्यालय सञ्चालन गरिएकोमा प्रशंसा व्यक्त गर्नुभयो ।
मन्त्री मास्कीले रेडियो नेपाललाई प्रदेश सरकारले सक्दो सहयोग गर्न सधैँ प्रतिबद्ध रहेको समेत बताउनुभयो ।
अवलोकनका क्रममा कार्यालय प्रमुख सूर्यनारायण लाल कर्णले रेडियोको प्रसारण पहुँच, यहाँबाट प्रसारण हुने कार्यक्रम, समाचारका साथै कार्यालयको भौतिक संरचनाको बारेमा जानकारी गराउनुभएको थियो । साथै कार्यालय प्रमुख कर्णले प्रदेश सरकारसँग सहयोगको लागि आग्रह समेत गर्नुभएको थियो ।







प्रतिक्रिया राख्नुहोस्