तपाईँ सुन्दै हुनुहुन्छः

राष्ट्रियसभा सदस्य निर्वाचन : सुदूरपश्चिम प्रदेशमा ९९ प्रतिशत मतदान

धनगढी । राष्ट्रियसभा सदस्य निर्वाचन अन्तर्गत सुदूरपश्चिम प्रदेशमा मतदान कार्य सकिएको छ । 

सहायक निर्वाचन अधिकृत प्रेमराज भट्टले सुदूरपश्चिम प्रदेशमा ९९ प्रतिशत मत खसेको बताउनुभयो । उहाँले स्थानीय तह र प्रदेशसभा सदस्य गरी २ सय २५ जना मतदाताले मतदान गर्नुभएको जानकारी दिनुभयो । ३ जना (मतदाता) मतदानमा सहभागी नभएको उहाँले जानकारी दिनुभयो । 

“प्रदेशसभा सदस्य (सबै) ५२ जना र स्थानीय तहका प्रमुख, उपप्रमुख र अध्यक्ष, उपाध्यक्ष गरि १७३ जनाले राष्ट्रियसभा सदस्य निर्वाचनमा भाग लिनुभएको छ, मतदान सकिएको छ, अब केही बेरमा मतगणना शुरु गर्ने तयारी भइरहेको छ”, सहायक निर्वाचन अधिकृत भट्टले भन्नुभयो ।

राष्ट्रियसभा सदस्य निर्वाचनका लागि सुदूरपश्चिम प्रदेशसभा परिसरमा दुई वटा मतदान केन्द्रको व्यवस्था गरिएको थियो । मतदानको अवधि बिहान ९ः०० बजेदेखि दिउँसो ३ः०० बजे सम्मका लागी तोकिएको थियो । 

सुदूरपश्चिम प्रदेशमा अपाङ्गता, अन्य र महिला गरि तीन पदका लागि मतदान भएको हो । यहाँ नेकपा एमालेका ३, नेपाली काँग्रेसका २ र नेकपा माओवादी केन्द्रका १ गरि जम्मा ६ जना चुनावी प्रतिस्पर्धामा  रहेका छन् । 

सुदूरपश्चिम प्रदेशमा प्रदेशसभा सदस्य ५२ र स्थानीय तहका १७६ गरि २२८ जना मतदाता रहेका छन् ।  कुल मतभार ६१ सय रहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button