तपाईँ सुन्दै हुनुहुन्छः

प्रधानमन्त्री रोजगार कार्यक्रम: मध्यविन्दुमा विकास निर्माणका कामलाई प्राथमिकता 

नवलपुर । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको मध्यविन्दु नगरपालिकामा प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत विकास निर्माणका कामलाई प्राथमिकता दिइएको छ ।

पालिकाको बिकट पहाड क्षेत्र पर्ने १४ नम्बर वडाका लागि पालिकाले प्रधानमन्त्री रोजगार कार्यक्रमबाट १८ लाख रुपैयाँ बिनियोजन गरेर रातामाटा– द्वारी मोटरबाटो स्तरोन्नति तथा कच्ची नाला निर्माणको काम शुरु गरेको छ । 

पालिकाको अन्य सुगम क्षेत्रमा पर्ने वडाहरूभन्दा विकट र ग्रामीण क्षेत्रमा पर्ने वडालाई प्राथमिकतामा राखेर प्रधानमन्त्री रोजगार कार्यक्रमको बजेट छुट्याइएको मध्यविन्दु नगरपालिका प्रमुख भिमलाल अधिकारीले बताउनुभयो ।

“प्रधानमन्त्री रोजगार कार्यक्रमप्रति कतिपयको गुनासो रहे पनि मध्यविन्दु नगरपालिकाले भने परिणाममुखी काम गर्ने सोच राखेको छ । त्यसै अनुसार हामीले काम तय गरेका छौँ ।”, अधिकारीले भन्नुभयो, “१४ नम्बर वडा पालिकाको पहाडी क्षेत्र पर्ने हुँदा त्यहाँ सहज यातायात पहुँचका लागि मोटरबाटो स्तरोन्नति तथा कच्ची नाला निर्माणको काम शुरु गरिएको छ । जसबाट गाउँको विकास सँगै स्थानीय समुदायको लागि श्रम अनुसारको आय प्राप्त हुनेछ ।”

रातामाटा– द्वारी मोटरबाटो स्तरोन्नति तथा कच्ची नाला निर्माणको काम शुरु गर्न मध्यविन्दु नगर प्रमुख भिमलाल अधिकारी, प्रमुख प्रशासकीय अधिकृत रमेश घर्ती, वडा अध्यक्ष मीन बहादुर दर्लामीसहितको टोली पुगेको थियो । 

स्थानीयलाई हौसला प्रदान गर्न र राम्रो काम गर्न प्रोत्साहित गर्नका लागि आफूहरू सहभागी भएको प्रमुख प्रशासकीय अधिकृत घर्तीले बताउनुभयो । 

मध्यविन्दु नगरपालिकाको अन्य वडाहरूमा पनि प्रधानमन्त्री रोजगार कार्यक्रमबाट रचनात्मक काम भएका छन् । त्यस्तै, वडा नम्बर ४ मा झाडी सरसफाइ गरि त्यसबाट जैविक मल बनाउने काम भएको छ । बस्ती नजिक रहेको कृषि फर्ममा अत्यधिक झाडी भएपछि बाघको त्रास भएको थियो । बाघले स्थानीयको पशु चौपाया खाइदिएर क्षति समेत पुर्याएको थियो ।

प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत झाडी सरसफाइ गरेर त्यस स्थानलाई वनभोज स्थलका रुपमा विकास गर्ने लक्ष राखिएको प्रधानमन्त्री रोजगार कार्यक्रम मध्यविन्दुका प्राविधिक जीवन काफ्लेले बताउनुभयो । 

यसैगरी १० नम्बर वडामा अरुणखोला नाला सरसफाइ खन्ने काम भएको छ भने , १५ नम्बर वडामा ज्ञानोदय माविका मर्मत सम्भारको काम भएको काफ्लेले बताउनुभयो । पालिकाको अन्य वडाहरूमा पनि विकास निर्माणकै काममा प्रधानमन्त्री रोजगार कार्यक्रमलाई जोडिएको उहाँले जानकारी दिनुभयो । 

मधयविन्दुमा प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि जम्मा पूँजीगत बजेट ४२ लाख ११ हजार रहेकोमा हालसम्म २७ लाख ६५ हजार रुपैयाँ बराबरको काम सम्पन्न भएको काफ्लेले बताउनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button