तपाईँ सुन्दै हुनुहुन्छः

राष्ट्रिय सभा निर्वाचन: बागमतीमा तयारी पुरा

मकवानपुर । राष्ट्रिय सभा सदस्य निर्वाचन अन्तर्गत बागमती प्रदेशमा हुने निर्वाचनको तयारी पुरा भएको छ । निर्वाचनका सन्दर्भमा बुधबार दिउँसो निर्वाचन हुने स्थान भुटनदेवी माविमा सर्वदलीय बैठक बसी निर्वाचनको तयारी पुरा भएको जानकारी दिइएको हो । 

मुख्य निर्वाचन अधिकृत श्रीप्रसाद सञ्जेलले बागमती प्रदेशतर्फ खाली रहेको ४ सिटका लागि निर्वाचन प्रक्रिया अन्तर्गत बिहीबार हुने मतदानको तयारी पूरा भएको जानकारी दिनुभयो । बैठकमा शीर्ष राजनीतिक दलका प्रमुख र प्रमुख जिल्ला अधिकारी सूर्यप्रसाद सेढाई, सुरक्षा निकायका प्रमुखहरूलगायतको सहभागितामा रहेको थियो ।

हेटौँडा–४ मा रहेको भुटनदेवी माविको प्राविधिक भवनमा हुने मतदान प्रक्रियामा प्रदेशसभा सदस्य, प्रदेशभित्रका स्थानीय तहका नगर प्रमुख र उपप्रमुख तथा गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षका लागि मतदान गर्न छुट्टाछुट्टै मतदान केन्द्रको व्यवस्था गरिएको सञ्जेलले जानकारी दिनुभयो । 

त्यस्तै मतदान केन्द्र कायम गरिएको मतदान केन्द्रमा अधिकृतसहित १०–१० जना गरी २० जना कर्मचारी खटाइनुका साथै मतदान केन्द्र अनुसार मतपत्रको रङ पनि फरक–फरक रहने जनाइएको छ । मतदान बिहान ९ बजेबाट सुरु भई दिउँसो ३ बजे समाप्त हुने सञ्जेलले बताउनुभयो । साथै मतदान प्रक्रिया सकिए लगत्तै मतगणना सुरु गरिने र नतिजा साँझ सम्म सार्वजनिक गरिने उहाँले जानकारी दिनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button