काठमाडौँ शिक्षालय ललितपुरको मन्टेश्वरी कक्षाको समुद्घाटन

ललितपुर । ललितपुर महालक्ष्मी नगरपालिका वडा न ४ मा रहेको काठमाडौँ शिक्षालय ललितपुरले मन्टेश्वरी कक्षाको समुद्घाटन सम्पन्न गरेको छ । प्रसिद्ध हास्य कलाकार किरण केसी र स्थानीय समाजसेवी नारायण पाण्डेले संयुक्त रुपमा मन्टेश्वरी कक्षाको उद्घाटन गरेका हुन । शिक्षालयको मन्टेश्वरी ब्लकमा आज आयोजित समुद्घाटन समारोहमा विशुद्ध मन्टेश्वरी पद्धतिमा आधारित कक्षाहरू सञ्चालनको शुरुवात गरिएको हो ।
समुद्घाटन कार्यक्रममा मन्तव्य दिँदै कलाकार किरण केसीले जीवनमा सफल हुन बालबालिकाहरूलाई गुणस्तरीय शिक्षाको आवश्यकता पर्ने हुँदा शिक्षालयले त्यस्तो कमी पूरा गर्ने विश्वास व्यक्त गरे । कार्यक्रममा प्रमुख अतिथि लगायतका पाहुनालाई शिक्षालयकी प्रिन्सिपल प्रेमलता श्रेष्ठले खादा लगाएर स्वागत गर्नुभएको थियो ।

विगत १९ वर्षदेखि ललितपुरमा गुणस्तरीय शिक्षा प्रदान गर्दै आइरहेको काठमाडौँ शिक्षालयले साना बालबालिकाहरूको सिकाइमा मन्टेश्वरी प्रणालीको अपरिहार्यतालाई मनन गर्दै कक्षा शुरु गरिएको जनाएको छ । २०६१ सालमा स्थापना भई सञ्चालनमा आएको शिक्षालयमा प्लेग्रुप देखि १० कक्षासम्म विद्यार्थीहरू अध्ययनरत छन् । कार्यक्रममा मन्तव्य राख्दै पर्वतारोही प्रकाश राज पाण्डेले नियमित शैक्षिक क्रियाकलापका अतिरिक्त खेलकुद र व्यक्तित्व विकासका कार्यक्रम तथा गतिविधिहरूमा पनि विद्यार्थीहरूलाई सहभागी गराई उनीहरूको सर्वाङ्गीण विकास गर्ने व्यवस्था शिक्षालयले गरेको बताउनुभयो ।










प्रतिक्रिया राख्नुहोस्