तपाईँ सुन्दै हुनुहुन्छः

शिक्षा हेर्न प्रदेशले मुख्य जिम्मेवारी पाउनुपर्छ : मुख्यमन्त्री यादव

महोत्तरी । मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले शिक्षा हेर्ने मुख्य जिम्मेवार प्रदेशलाई बनाइनुपर्ने बताउनु भएको छ ।

महोत्तरीको बर्दिबास–३ पाटुस्थित जनजागृति माध्यमिक विद्यालयको स्वर्ण महोत्सवको समुद्घाटन सम्बोधन गर्दै उहाँले अधिकार र जिम्मेवारीका क्षेत्रमा प्रदेश उपेक्षित भएको बताउनुभयो ।

सर्वाङ्गीण विकास र समृद्धिका कुरा शिक्षाबिना सोच्न नसकिने उहाँको भनाइ छ । तर, शिक्षाको महत्वको क्षेत्रबारे प्रदेश सरकारको जिम्मेवारी कहीँ नखुलेको यादवले गुनासो गर्नुभयो । शिक्षा क्षेत्रलाई मुख्यतः स्थानीय तहको अधिकार क्षेत्रमा राखिँदा मधेशको शिक्षा झनै खस्केको उहाँले चिन्ता व्यक्त गर्नुभयो ।

समारोहमा मुख्यमन्त्री यादवले शिक्षाको गुणस्तरको कुरामा केही गर्न नसके पनि विद्यालयको भौतिक विकासमा सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो ।

कार्यक्रममा प्रतिनिधि सभाका सदस्य लक्ष्मी महतोले यस विद्यालयको भौतिक विकास सहित समग्र बर्दिबासको विकासका लागि आफू चिन्तित बनेको बताउनुभयो ।

पूर्वमन्त्री एवं नेकपा माओवादी नेता भरतप्रसाद साहले शिक्षाको विकास विना कुनै क्षेत्रको विकास सम्भव नभएकाले यस विद्यालयको विकासका लागि प्रदेश सरकारलाई लगानी गर्नका लागि आग्रह गर्नुभयो ।

बर्दिबास नगरपालिकाका नगरप्रमुख प्रह्लाद क्षेत्रीले श्रीजन जागृति माध्यमिक विद्यालयले स्वर्ण महोत्सव मनाएकोमा खुशी व्यक्त गर्दै विद्यालयको भौतिक अवस्था कमजोर भएकाले पूर्वाधारको निर्माण र विकासमा ध्यान दिनका लागि प्रदेश सरकारसँग माग गर्नुभयो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भू बहादुर विश्वकर्माको अध्यक्षतामा भएको सो कार्यक्रममा प्रदेश सभाका सदस्य शारदा देवी थापा सहितका वक्ताहरूले बोल्नुभएको थियो । कार्यक्रममा विद्यालयको विकासमा योगदान दिनेहरूलाई सो कार्यक्रममा सम्मानित गरिएको थियो । कार्यक्रममा विभिन्न गीत सङ्गीत तथा नृत्यहरू प्रदर्शन गरिएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button