सेवा प्रवाह चुस्त बनाउन सहरी विकासमन्त्री गुरुङको निर्देशन
तेह्रथुम । सहरी विकासमन्त्री सीता गुरुङले सार्वजनिक सेवा प्रवाहलाई चुस्त बनाउन कार्यालय प्रमुखहरूलाई निर्देशन दिनुभएको छ ।
आज तेह्रथुम जिल्ला प्रशासन कार्यालय, सुरक्षा निकायका साथै विभिन्न कार्यालयका प्रमुखसँगका बैठकमा मन्त्री गुरुङले कार्यालयहरूले प्रवाह गर्ने सेवा छिटोछरितो र सहज बनाउन निर्देशन दिनुभयो ।
मन्त्री गुरुङले जिल्लाका राजनीतिक दलका प्रमुखसँग जिल्लाको समग्र विकासबारे छलफल गर्नुभयो । त्यस अवसरमा सहरी विकास मन्त्रालयमार्फत निर्माण हुन लागेको आठराई गाउँपालिकाको शीत भण्डार, महिला सामुदायिक भवन, म्याङ्लुङको मिनि मार्केट, आठराई गाउँपालिका–९ को वडा कार्यालयको प्रशासनिक भवनको उहाँले शिलान्यास गर्नुभयो ।
मन्त्री गुरुङले आजै लालीगुराँस नगरपालिकामा भइरहेको उँधौली उभौली मेलाको पनि उद्घाटन गर्नुभयो । मन्त्री गुरुङलाई लालीगुराँस नगरपालिकाको वसन्तपुरमा स्थानीयले सांस्कृतिक च्याब्रुङ नाच (केलाङ), झाँक्री नाच (येवा लाङ), नौमती बाजासहित स्वागत गरेका छन् ।








प्रतिक्रिया राख्नुहोस्