तपाईँ सुन्दै हुनुहुन्छः

कपुरकोट गाउँपालिका कार्यसम्पादन मूल्याङ्कनमा कर्णाली प्रदेशमै उत्कृष्ट

सल्यान । सल्यानको कपुरकोट गाउँपालिका कार्यसम्पादन मूल्याङ्कनमा कर्णाली प्रदेशकै उत्कृष्ट भएको छ । स्थानीय तहहरूको संस्थागत क्षमता स्वमूल्याङ्कन र स्थानीय तह वित्तीय सुशासन जोखिम मूल्याङ्कनमा कर्णाली प्रदेशमा प्रथम र नेपालमा दोस्रो भएको हो ।

आर्थिक वर्ष २०७९।०८० को कार्य सम्पादनका आधारमा सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सार्वजनिक गरेको नतिजा अनुसार कर्णाली प्रदेशमा प्रथम र नेपालमा दोस्रो भएको कपुरकोट गाउँपालिका अध्यक्ष दुर्गा पुनले जानकारी दिनु भयो  । विभिन्न सूचकहरूको मूल्याङ्कनको आधारमा आर्थिक वर्ष २०७९/०८० मा तय भएका कार्यक्रम र कार्य प्रगतिलाई मूल्याङ्कनको मुख्य आधार बनाएर प्रत्येक स्थानीय तहहरूलाई १०० पूर्णाङ्कमा निर्धारण गरी विभिन्न शीर्षकहरूमा मूल्याङ्कन गरिने उहाँको भनाई छ  ।

कपुरकोट गाउँपालिकाले आर्थिक वर्ष २०७९/०८० मा योजना बजेट तथा कार्यक्रम व्यवस्थापनमा २१,कार्यान्वयन क्षमता तथा व्यवस्थापन २७ दशमलव ५, लेखांकन तथा प्रतिवेदनमा १७,अनुगमन मूल्याङ्कन तथा लेखा परीक्षणमा १६ र राजस्व व्यवस्थापनमा १५ दशमलव ५ अङ्क प्राप्त  गरेको छ । 

१०० पूर्णाङ्कको मूल्याङ्कनमा कपुरकोट गाउँपालिकाले ९७ अङ्क पाएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत भरतकुमार ओलीले जानकारी दिनु भयो  ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button