पूर्व मुख्यमन्त्री पोखरेललाई मातृशोक
पोखरा । गण्डकी प्रदेशका पूर्व मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेललाई मातृशोक परेको छ । पोखरेलकी आमा स्वतन्त्रता सेनानी द्रौपदाको १०२ वर्षको उमेरमा आज (मङ्गलवार) बिहान काठमाडौँ रानीबारीस्थित आफ्नै निवासमा निधन भएको पारिवारिक श्रोतले जनाएको छ । द्रौपदा कान्छा छोरा सुवाससँग बस्दै आउनु भएको थियो ।
तनहुँको म्याग्देमा जन्मनु भएको द्रौपदाको विसं १९९२ सालमा तनहुँ राम्चेकै गोवद्र्धन शर्मा पोखरेलसँग विवाह भएको थियो । २००७ सालको क्रान्ति र त्यसभन्दा अघिदेखि नै प्रजातन्त्रका लागि जुध्दै आएकी द्रौपदा नेपाली कांग्रेसको केन्द्रीय सदस्य समेत हुनु भएको थियो । पति गोवद्र्धन शर्मालाई राजनीतिमा लाग्न प्रेरित गर्ने उहाँ आफू परिवार सम्हालेर समाज सुधारको अभियानमा लाग्नु भएको थियो ।

पटक पटकको सर्वस्वहरण, पतिमा लामो निर्वासन, पति गोवर्द्धनले दलितसँगै बसेर खाना खाएपछिको सामाजिक बहिस्कारजस्ता उल्झन खेप्दै ४ छोरा अनि २ छोरी हुर्काउनु भएको द्रौपदा सङ्घर्षको अर्को नाम भएको उहाँका आफन्तले उल्लेख गर्नु हुन्छ । २००७ सालको क्रान्ति अघि उहाँ स्थानीय महिला सङ्घको अध्यक्ष हुनु भएको थियो । पतिका नाममा तनहुँमा स्थापित गोवद्र्धन शर्मा स्मृति ट्रस्टको संस्थापक अध्यक्ष उहाँ हाल संरक्षक हुनुहुन्थ्यो ।
उहाँका पति गोवद्र्धन शर्मा पोखरेलको २०४६ वैशाख ९ गते निधन भएको थियो । द्रौपदाका ४ भाइ छोरा र २ छोरी हुनुहुन्छ । जेठा छोरा रामचन्द्र पोखरेल संविधानसभा सदस्य हुनुहुन्छ, पूर्व मुख्यमन्त्री कृष्णचन्द्र द्रौपदाका माइला छोरा हुनुहुन्छ । साइँला छोरा डा.जगदीशचन्द्र पोखरेल राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष हुनुहुन्छ भने कान्छा छोरा सुवासचन्द्र अमेरिका बस्ने भए पनि आमाकै सुसारकै लागि काठमाडौँ आउनु भएको थियो । द्रोपदाका २ छोरी सत्यम्वदा र प्रियम्वदा हुनुहुन्छ । द्रौपदाको मङ्गलवार नै पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिएको छ ।








प्रतिक्रिया राख्नुहोस्