तपाईँ सुन्दै हुनुहुन्छः

युक्रेनमा युद्ध ‘राम्रो र नराम्रोबिचको लडाइँ’– पोल्यान्डका प्रधानमन्त्री

युक्रेन।  पोल्यान्डका प्रधानमन्त्री डोनाल्ड टस्कले मस्कोको आक्रमणको करिब दुई वर्षपछि युक्रेनप्रति समर्थन देखाउन गर्नुभएको किएभको भ्रमणमा सोमबार युक्रेन र रुसबिचको युद्धलाई ‘राम्रो र नराम्रोबिच’ को लडाइँ भन्नुभएको छ । 

डिसेम्बरमा पोलिश प्रधानमन्त्रीका रूपमा फर्किनुभएका टस्कले वार्साले आफ्नो छिमेकीलाई युद्ध जित्न मद्दत गर्न ‘सबै कुरा गर्ने’ वाचा गर्नुभयो । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीसँगको पत्रकार सम्मेलनमा टस्कले भन्नुभयो, “मलाई यी ठूला शब्दहरू प्रयोग गर्न कुनै सङ्कोच छैन : यहीँ युक्रेनमा राम्रो र नराम्रोबिचको विश्व मोर्चा चल्छ ।”

सन् २०२२ मा मस्कोले आक्रमण सुरु गरेदेखि पोल्यान्ड युक्रेनको सबैभन्दा कट्टर सहयोगीहरूमध्ये एक रहेको छ । यद्यपि पोल्यान्डको अघिल्लो पपुलिस्ट सरकारअन्तर्गत आर्थिक विवाद तथा राजनीतिक तनावका कारण गत वर्षको दोस्रो छ महिनादेखि यी छिमेकीहरूबिचको सम्बन्ध बिग्रिएको थियो । 

“पोल्यान्डमा कसैलाई कुनै सन्देह छैन”, अहिले पोल्यान्डमा युरोपेली सङ्घ (इयु) समर्थक गठबन्धनको नेतृत्व गर्नुभएका प्रधानमन्त्री टस्कले जोड दिँदै भन्नुभयो, “पोल्यान्ड यस युद्धमा युक्रेनको जितको सम्भावनाहरूलाई बढाउनका लागि हरसम्भव प्रयास जारी राख्नेछ ।” 

उहाँले युद्धमा पोल्यान्डको सुरक्षा पनि ‘खतरमा’ थियो भन्नुभयो । युरोपेली परिषद्का पूर्वअध्यक्ष टस्कले युक्रेन युद्धमा विरोध गर्ने नेताहरूको आलोचना गर्नुभयो तर उहाँको नाम लिन छाड्नुभयो । पोलिश प्रधानमन्त्रीले भन्नुभयो, “आज स्वतन्त्र संसारमा कोही पनि तटस्थ भएको ढोङ्ग गर्दछ, ऊ राजनीतिक नरकको सबैभन्दा अँध्यारो स्थानका लागि हकदार छ ।”

करिब दुई वर्षदेखि रुससँगको द्वन्द्व जारी रहँदा युक्रेनलाई केही पश्चिमी मुलुकहरूमा युद्धको थकानले किएभलाई समर्थन गर्ने विषय प्रभावित हुनसक्ने चिन्ता छ । एएफपी

प्रतिक्रिया राख्नुहोस्

Back to top button