सुस्ता : पुर्जा हातमा जग्गा भारतमा

नवलपरासी,पश्चिम् । सुन्दा अचम्म लाग्न सक्छ लालपुर्जा नेपालको जग्गा चाहिँ भारतमा भन्दा ।तर यो वास्तविक पीडा हो सुस्तावासीको ।
सुस्ताका ओम प्रकाश चौधरी सँग आफ्नो डेढ बिघा जगाको लालपुर्जा हातमा छ ।उनका बुवा शारदा प्रसाद चौधरीको नाममा तिन कित्तामा रहेको जग्गा अहिले भारतीय अतिक्रमणमा परेर जोतभोग समेत भारतले गर्दै आइरहेको छ तर लालपुर्जा भने ओम प्रकाश सँगै छ ।२०२९ सालसम्म मालपोत राजस्व तिरेको रसिद रहेको उहाँ बताउनु हुन्छ ।
सुस्तामा १९ हजार ४ सय ८० हेक्टर जमिन विवादित छ भने १४ हजार ५ सय हेकटर जमिन अतिक्रमित रहेको छ ।तत्कालीन सुस्ता पञ्चायत रहँदा सुस्ता गाउँपालिकाको क्षेत्रफल ४० हजार ९८० हेक्टर रहेकोमा अतिक्रमण र विवादित गरि अहिले क्रमशः सुस्ता साघुरिदै गएको छ ।
२०२२ सालमा बन फडानी गरी राजा महेन्द्रले सुस्तामा भूपू सैनिक परिवारको बसोबास गराएका थिए ।२०३४ सालमा नारायणी नदिमा आएको भीषण बाढी र डुबानका कारण त्यहाँका नागरिकलाई वारि त्रिवेणिको साहुमारा,केउलानी लगायतका ठाउँहरूमा जग्गा व्यवस्थापन गरि स्थानान्तरण गरियो ।

सो समयमा तीन जना सम्मको परिवारलाई एक बिघा र सो भन्दा बढी सदस्य परिवार भएकाहरुकाई झन्डै डेढ बिघाको हाराहारीमा सरकारले जग्गा उपलब्ध गराएर विस्थापित हरुको बस्ती बसालेको बताउनु हुन्छ तत्कालीन सुस्ता गाविसका अध्यक्ष एवम् हाल सुस्ता गाउँपालिकाका अध्यक्ष टेकनारायण उपाध्याय । ठ्याक्कै एकिन नभएपनी नेपाली नागरिकता बाहक सयौँको सङ्ख्यामा रहेका विस्थापितले वारि जगा पाएको उपाध्याय स्मरण गर्नु हुन्छ ।
“हाम्रो तीन दाजुभाइको साढे १३ बिघा जग्गा सुस्ता पारी अतिक्रमणमा परेको छ,केही भारतले जोतभोग गरेको छ केही जङ्गलमा परिणत भएको छ,हामीले २०२९ सालदेखी ३९ सालसम्म मालपोत कर तिरेको प्रमाण छ”सुस्ताका आदम हुसेनले भन्नू भयो ।हुसेन सुस्ता बचाउ अभियानका कार्यबहाक अध्यक्ष समेत हुनुहुन्छ ।पुर्जा हातमा भएर के गर्ने जगा भारतमा गयो हुसेनले भन्नू भयो ।सुस्ताकै मुन्सी हरिजनको पनि हातमा पुर्जा छ तर जग्गा भारतमा छ जगा पाईन्छ्की भन्ने आशमा बुढ्यौली लागिसकेको उहाँको गुनासो छ ।
सुस्ताका आदम हुसेन,मुन्सी हरिजन र ओम प्रकाश चौधरी जस्तै सयौँ नागरिकको जग्गा अतिक्रमण भएको छ भने केहीको विवादित अवस्थामा रहेको छ ।नेपाल सरकारले कूटनैतिक पहल गरी जगा फिर्ता आउने आशमा उनीहरू बसिरहेका छन् ।
लालपुर्जा हातमा भएर पनि उनीहरू आफ्नो जमिन उपभोग गर्न बाट वञ्चित रहेका छन् ।आफ्नो भूमि रक्षाका लागि सुस्तावासी कयौँ पटक आन्दोलनमा उत्रिए ।सुस्ता बचाउ अभियान नै चलाएर सिंहदरबार झकझक्याएका उनीहरू समेत थकित भएका छन् ।
नारायणी पारीको सुस्तामा अहिले २७३ घरधुरीमा ३ हजार १ सय ३३ जनसङ्ख्या रहेको बताइन्छ।यसरी अतिक्रमित भएको चार दशक बढी बितेको छ । जसका कारण कुल ४० हजार ९ सय ८० हेक्टर क्षेत्रफल भएको सुस्ता सानो आकारको ७ हजार हेक्टरमा खुम्चिन पुगेको आकलन छ ।
अहिले लालपुर्जा भएकाहरू सुस्ता गाउँपालिकामा राजस्व बुझाउन आउने गरेपनी उनीहरूको राजस्व लिन नसकिएको बताउनु हुन्छ सुस्ता गाउँपालिकाका अध्यक्ष टेकनारायण उपाध्याय ।”उहाँहरू पुर्जा बोकेर राजश्व बुझाउन आउनुहुन्छ तर मालपोत कार्यालयले हामीलाई लगत दिएको छैन तसर्थ हामीले राजश्व बुझेका छैनौ”उपाध्यायले भन्नू भयो ।
सुस्ता बचाउका लागि कयौँ पटक चरणबद्ध आन्दोलन गर्यौ,ज्ञापनपत्र बुझाउने देखि लिएर सम्बन्धित निकायलाई स्थलगत अवलोकन अध्ययन गराउँदा समेत राज्य संयन्त्रबाट यस विषयमा कुनै पहल नभएको भनाई छ सुस्ता बचाउ अभियानका प्रवक्ता रविन्द्र जैसवालको ।”सुस्ताक नागरिक त गैर नागरिक जस्तै छन् कि नेपाली होइन भनिदिनु पर्यो होइन भने नागरिकले सरकार भएको महसुस गर्न पाउनु पर्यो “जैसवालले भन्नुभयो ।
सन् १८१६ को सुगौली सन्धि अनुसार साविक नवलपरासी जिल्ला र भारतको अन्तर्राष्ट्रिय सीमाना नारायणी नदी हो । सन्धिमा उल्लेख भए अनुसार नारायणी गण्डकीको पश्चिमतर्फ नेपाल र पूर्वतर्फ भारत हो ।
सुगौली सन्धिताका सुस्ता भन्ने बस्ती नारायणी/गण्डकी नदीको पश्चिममा थियो ।पछि नदीको धार परिवर्तन भई नदी सुस्ताको पश्चिमबाट बग्न थाल्यो र सुस्ता पूर्वमा पर्न गयो । उक्त समयदेखिनै नेपाल भारत–सीमा विवाद सुरु भएको यसका जानकार र सिमाविदहरु बताउँछन्।








प्रतिक्रिया राख्नुहोस्