तपाईँ सुन्दै हुनुहुन्छः

सकारात्मकतर्फ जनमत निर्माण गर्नु जरुरी छ : पूर्वमन्त्री भुसाल

काठमाडौँ । पूर्वमन्त्री पम्फा भुसालले पछिल्लो समयमा नेपाली समाजमा नकारात्मक बढ्दै गएको हुँदा सकारात्मकतर्फ जनमत निर्माण गर्नुपर्ने बताउनुभएको छ ।

नेपाल प्रज्ञा–प्रतिष्ठान र नेपाल वैकल्पिक अध्यक्ष समाजद्वारा संयुक्त रुपमा आज आयोजित ‘नेपाली समाजका सन्दर्भमा लेनिनवाद’ विषयक अन्तरक्रियामा उहाँले नेपाली समाजमा सकारात्मकताको धारणा जगाउन जरुरी भएको बताउनुभएको हो ।

“विश्व सूचना प्रविधिको विकासले सबैले उपयोग गर्न पाएका भए पनि पुँजीवाद र साम्राज्यवादीहरू यसको दुरुपयोग गरी नागरिकमा नकारात्मक धारणा उत्पन्न गरिरहेका छन्”, पूर्वमन्त्री भूसालले भन्नुभयो, “प्राप्त उपलब्धि रक्षाका लागि समाजमा सकारात्मकता जगाउन जरुरी छ ।” उहाँले समाजवादतर्फ जनमत निर्माण गर्न नेपालमा पनि माओवादीले दश वर्षे सशस्त्र आन्दोलनबाट राजतन्त्रको अन्त्य गरी गणतन्त्रको स्थापना गरेको स्मरण गर्नुभयो ।

नेत्री भुसालले लेनिनले तत्कालीन साम्राज्यवाद र पुँजीवादविरुद्ध क्रान्ति गर्नुभएको स्मरण गर्दै शान्तिपूर्ण तरिकाले राज्यसत्ता एक वर्गबाट अर्को वर्गमा नजाने विचार राख्नुभएको बताउनुभयो ।

राजनीतिज्ञ टङ्क कार्कीले मार्क्सवाद तथा लेनिनवादले राज्यसत्तामा रहने र सर्वहाराबिचको खाडल कम गर्नका लागि श्रमिकलाई साथमा लिएर हिँड्नुपर्ने चेत दिएको बताउनुभयो । उहाँले अहिले पनि पुँजीपति वर्ग र श्रमजीवी वर्गमा खाडल बढ्दै गएको विश्लेषण समेत गर्नुभएको थियो ।

विश्लेषक सङ्गीत श्रोताले मार्क्सवादसँगै जोडेर लेनिनलाई हेरिनुपर्ने र नेपाली समाजमा आज पनि वर्गीय हिसाबले ठूलो खाडल बन्दै जाँदा लाखौँ युवा बिदेसिन बाध्य भएको बताउनुभयो । उहाँले देशमा रोजगारीको अवसर नभएकै कारण युवा बिदेसिएका छन् भन्ने कुरा राज्यसत्तामा बस्नेले हेक्का राख्नुपर्ने धारणा राख्नुभयो ।

लेनिन बितेको एक सय औँ स्मृति दिवसका अवसरमा उक्त कार्यक्रम गरिएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button