तपाईँ सुन्दै हुनुहुन्छः

मुसहरको जाडो छल्न पराल नै सहरा

महोत्तरी । महोत्तरीको एकडारा गाउँपालिका–३ भटौलियाका मुसहर समुदायका लागि वर्षभरि बस्तुभाउको लागि जम्मा गरेको आहारा (पराल) जाडोबाट बच्ने सहारा बनेको छ ।

भटौलिया गाउँको उत्तरपट्टी रहेको सय परिवारको मुसहर बस्तीको घरमा  खुवाउने पराल नै ओढ्ने, पराल नै ओछ्याउने र परालकै आगो तापेर जीउ न्यानो बनाइरहेको दृश्यले त्यहाँका मुसहर समुदायलाई जाडोबाट बचाउने सहारा नै पराल बनेको देखिन्छ ।

चिसो स्याँठले असह्य भएको जाडोको बीच चारैतिर परालको कुन्यू, परालबाटै बनेको गुन्द्री, पराल नै जुटको बोरामा कोचेर बनाइएको सिरक, डसना र परालकै आगो बालेर भटौलिया गाउँका सम्पूर्ण मुसहरी (मुसहर बस्ती) यतिबेला जाडो छलिरहेको छ ।

चारैतिर खर परालकै झिक्राझिक्री (टाटी) र खर र परालले नै छाएको सानो झुपडीमा उमेरले ६५ वर्ष नाघिसकेकी जोगिया सदा आफ्ना लालाबाला र घरपरिवारसहित चिसो स्याँठका बीच बसिरहेको देखियो ।

उहाँको शरीरमा समेत चिसो छल्न सक्ने जति लुगाफाटा थिएन भने बालबालिकाको शरीर लुगाफाटाले पूर्ण रुपमा छोपिएको थिएन, महिला इज्जत ढाक्नैका लागि लगाउनुपर्ने लुगाबाहेक अरू बाक्लो कपडामा भेटिँदैनन् ।

आर्थिकरुपले चरम गरिबीले छोएको उहाँको झुपडीमा कुनै घेराबेर छैन । चिसो आकाशमुनि बस्दै आएको जोगियाको ११ जनाको परिवार जाडो बढेसँगै आगोकै वरिपरि लुटपुटिएको हुन्छ ।

उहाँकै छिमेकी ५० वर्षीया सुमित्रा देवी सदाको अवस्था पनि उस्तै छ । छरसात जना छोराछोरीसहित उनको परिवार पनि परालको ठुट्टो (लार) ले चारैतिरबाट घेरिएको र माथि च्यातिएको प्लास्टिकबाट ठाउँ ठाउँमा घरभरि उज्यालो आउँदै गरेको सानो झुप्रोमा बस्दै आउनुभएको छ ।

झुप्रोभित्र चारैतिर पराल ओछ्याएको छ भने राति सुत्नका लागि जुटको ठूलाठूला बोरामा पराल कोचेर ओढ्ने ओछ्याउने विस्तार बनाउनुभएको हो।

उहाँका कुनै छोराछोरीका जीउमा पनि पूरा कपडा छैनन् । घरभित्रबाट चिसोले काप्दै सुमित्राले भनिन्, ‘हजुर हमरा सब लग केऊ नै अबैछै, मैर रहलछी लेकिन केकरो कोनो फिकिर नै है ।’ (हजुर हामी कहाँ कोही आउँदैनन् । मरिरहेछौँ तर पनि कसैलाई कुनै मतलब छैन) ।

६ वर्षदेखि चिसो, वर्षा र घामको सामना गर्दै यसै झुप्रोमा दिन बिताउन बाध्य उहाँको परिवारलाई दुई छाक हातमुख जोर्न पनि समस्या छ । सुमित्रादेवी भन्छिन्, ‘परिवारमा खानेकुराको अभावले भोकै बस्नुपर्ने अवस्था छ भने लुगाफाटा र ओढ्ने ओछ्याउने कहाँबाट ल्याउनु ! ’ कतैबाट राहत दिलाइदिनुस् ।’

कहाँ जाऊँ, के गरूँ र कसरी बाँचूँ भन्ने चिन्ताले उहाँलाई पिरोलेको छ । उहाँको सात बालबालिकासहित ११ जनाको परिवार दैनिक मजदुरीबाट जसोतसो चल्दै आएको छ । एकदिन पनि मजदूरी नगरेमा चुल्हो बल्दैन भने परिवारका सबै सदस्य भोकभोकै बस्नुपरेको उहाँको दुःखेसो छ ।

‘जाडो याममा कहिले काम पाइन्छ, कहिले पाइँदैन र त्यस्तो अवस्थामा भोकै बस्नुपर्ने बाध्यता छ’ भुटीले भनिन्, ‘हजुर कोही दाता छन् भने हामीलाई राहत दिलाइदिनुस् न । जाडो हटेपछि त काम पनि पाइन्छ, बालबालिका पनि भुलाउन सजिलो हुन्छ ।’

केही दिनयता तराईरमधेशका जिल्लाहरूमा बाक्लो कुहिरो लाग्ने, घाम नलाग्ने र शीतलहर हुने गरेकाले गरिब तथा विपन्न समुदायका बासिन्दाको जनजीवन निकै कष्टकर बनेको छ । सय परिवार मुसहरको यहाँका जुनसुकै घरमा जानु सबैको उस्तै पीडा देखिन्छ । अभावै अभावमा जीवन काटिरहेका उनीहरूको अवस्था बढ्दो चिसोसँगै चिन्ताजनक हुँदै गएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button