तपाईँ सुन्दै हुनुहुन्छः

बर्दिबास मेडिकल कलेज प्रस्तावित जग्गामै बन्ने

महोत्तरी । महोत्तरीको बर्दिबास मेडिकल कलेजको लामो समयदेखि जग्गा विवादमा अल्झिएको अब पूर्वाधार निर्माण अघि बढ्ने भएको छ । 

बुधवारको मन्त्रिपरिषद् बैठकले मेडिकल कलेज पूर्वाधार निर्माणका लागि प्रस्तावित जग्गामा तोकिएका रुख कटान गर्न दिने निर्णय गरेसँगै जग्गा प्राप्तिको कुरा टुङ्गिएको पूर्व शिक्षामन्त्री गिरिराजमणि पोखरेलले जानकारी दिनुभएको हो।

बिहीबार निर्णय कार्यान्वयनको प्रक्रिया अघि बढिसकेकाले अब मेडिकल कलेज पूर्वाधार निर्माणको गाँठो फुकेको पोखरेलले बताउनुभयो।

वन तथा वातावरण मन्त्रालयमा लामो समयदेखि थन्किएको मेडिकल कलेजको फाइलमा निर्णय गर्दै मन्त्रिपरिषद्‌ले सर्तहरू पालना गर्नेगरी बर्दिबास वडा नम्बर-४ स्थित माइस्थान सामुदायिक वन क्षेत्रको ५४‍.५८४ हेक्टरमा रहेका १९ सय ७६ रुख कटान गर्न स्वीकृति दिने निर्णय गरेको छ ।

रुख कटानको स्वीकृतिसँगै मेडिकल कलेजको पूर्वाधार निर्माण अघि बढ्ने भएको छ। बर्दिबास मेडिकल कलेज प्रस्तावित जग्गामै बन्नुपर्ने भन्दै यस क्षेत्रका सरोकारवालाले लामो समयदेखि सङ्घर्ष गर्दै आउनुभएका थिए ।

वनक्षेत्रमा कलेज निर्माण रोक्न भन्दै सर्वोच्चमा २०७८ मा परेको रिट अदालतले गत जेठ २९ गते खारेज गरेको थियो । यता बर्दिबास नगरपालिकाले भने कलेजको पूर्वाधार निर्माण गर्दा काटिन सक्ने रुखका कारण पर्यावरणमा पर्नसक्ने असर रोक्न भन्दै ०७८ सालदेखि नै वृक्षारोपण अभियान सञ्चालन गरिरहेको छ ।

तोकिएको क्षेत्रमा पर्ने १९ सय ७६ रुखमा जतिसक्दो धेरै रुख बचाएर पूर्वाधार निर्माण गर्ने योजना रहेकाले ६ सय बढी रुख कटान नहुने मेडिकल कलेजका पूर्वाधार निर्माण कार्यालयका प्रमुख देवीप्रसाद सुवेदीले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button