तपाईँ सुन्दै हुनुहुन्छः

टाइगर कप भलिबलको महिलातर्फ न्यू डायमण्ड र एपिएफ उपाधिको लागि फाइनलमा भिड्ने

पोखरा । पोखरामा जारी चौथो संस्करणको टाइगर कप भलिबल प्रतियोगिता २०८० मा डिफेन्डिङ च्याम्पियन सशस्त्र प्रहरी बलको एपिएफ क्लब र चन्द्रागिरि नगरपालिका न्यू डायमण्ड एकेडेमी बीच उपाधिको लागि फाइनल खेलमा प्रतिस्पर्धा गर्ने भएका छन् । 

टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजना पोखरामा आज सम्पन्न भएको सेमिफाइनल खेलमा दुवै टिमले जित हासिल गरी फाइनलमा यात्रा तय गरेका हुन् । 

एपिएफले पहिलो दुई सेट १९–२५ र २०–२५ ले नेपाल आर्मीसँग हार्न पुग्यो भने बाँकी लगातार तीन सेट २५–१३, २५–१६ र १५– १३ ले आफ्नो पोल्टामा पार्न सफल भयो । आर्मीको एक पछि अर्कोको गल्तीको फाइदा उठाउँदै एपिएफ उपाधि नजिक पुगेको हो । खेलमा एपिएफकी सरस्वती चौधरी टाइगर अफ दि म्याच घोषित हुनु भयो । 

अर्को सेमिफाइनल खेलमा न्यू डायमण्डले नेपाल पुलिस क्लब माथि सोझो तीन सेट आफ्नो पोल्टामा पार्दै एपिएफसंग फाइनलमा यात्रा बनाएको हो । न्यू डायमण्डले २५–१९, २५–१८ र २५–१८ ले पुलिसलाई पराजित गर्‍यो । खेलमा टाइगर अफ दि म्याच न्यू डायमण्डकी सलिना बुढामगर घोषित हुनु भयो । 

हाल पोखरा रङ्गशालामा पुरुष तर्फ गण्डकी र त्रिभुवन आर्मी बिचको खेल सञ्चालन भएको खेल संयोजक दीपक कार्कीले जनाउनु भयो । 

प्रतियोगितामा महिला तथा पुरुषतर्फ उपाधि विजेता टिमले ट्रफी, मेडल तथा प्रमाणपत्र सहित समान नगद रु ५ लाख ५५ हजार ५ सय ५५ र उपविजेता टिमले समान नगद रु २ लाख ५५ हजार ५ सय ५५ तथा तेस्रो हुने टिमले १ लाख २५ हजार ५ सय ५५ प्राप्त गर्नेछन् ।

उत्कृष्ट महिला तथा पुरुष खेलाडीहरूले जनही नगद २५–२५ हजार र अन्य विद्यागत रुपमा उत्कृष्ट हुने खेलाडीहरूले करिब १५–१५ हजार बराबरको गिफ्ट ह्याम्पर प्राप्त गर्ने संस्थाका सचिव डिबी नेपालीले बताउनु भयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button