नक्कली मदिरा उत्पादन र बिक्री गर्ने सार्वजनिक

काठमाडौँ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले नक्कली मदिरा उत्पादन गरी बेचबिखन गर्ने नौ जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ ।
आज यहाँ आयोजित पत्रकार सम्मेलनमा काठमाडौँको कागेश्वरी मनोहरा नगरपालिका–५ थलीस्थित भरत थापाको दुई तले घर भाडामा लिइ बसेका विनोदकुमार कार्कीले स्वदेशी तथा विदेशी ‘ब्रान्ड’का नक्कली मदिरा उत्पादन गरी कालोबजारी गरेको आरोपमा ती नौ जनालाई पक्राउ गरिएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख तथा प्रहरी वरिष्ठ उपरीक्षक सोमेन्द्रसिंह राठोरले जानकारी दिनुभयो ।
आज सार्वजनिक गरिएकामा रामेछाप रामेछाप खाँडादेवी गाउँपालिकाका मनोज खत्री र विनोदकुमार कार्की, त्यस्तै सिन्धुपाल्चोकका गौरव तामाङ, मोहन खड्का, कागेश्वरी मनोहरा नगरपालिकाका सुमन नगरकोटी, सिन्धुली कमलामाईका लेखविक्रम थापा रहेका छन् । यसैगरी, रामेछापका महेश खत्री, रामेछाप खाँडादेवीका मनिष खत्री र सिन्धुपाल्चोक चौतारा नगरपालिका रोशन कार्की रहेका छन् ।
पक्राउ परेका विनोद कार्कीको थलीस्थित कोठा खानतलासी गर्दा स्वदेशी तथा विदेशी ब्रान्डका गुणस्तरहीन मदिरा बनाई कालोबजारी गर्ने गरेको तथा उनीहरूले आन्तरिक राजश्व कार्यालय अन्तःशुल्कका ‘स्टिकर’हरू समेत नक्कली बनाएर प्रयोग गर्ने गरेका काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख राठोरले बताउनुभयो ।
उहाँले भन्नुभयो, “नक्कली मदिरा उत्पादन गरी बेचबिखन गर्ने गरेको गोप्य सूचना प्राप्त भएपछि हामीले खानतलासी गर्दा नक्कली खुकुरी रम, गोल्डन ओक, फाइटर, सिग्नेचर, ३६५ ब्ल्याक मदिरा, मदिरा बनाउन प्रयोग गर्ने समानहरू, अन्तःशुल्कका नक्कली स्टिकर, लेबलिङ एवं प्याकेजिङ गर्न प्रयोग गरिने सामानहरू बरामद गरेका छौँ ।” पक्राउ परेका उनीहरुलाई थप अनुसन्धान तथा कारबाहीका लागि आजै जिल्ला प्रहरी परिसर काठमाडौँ पठाइने जानकारी पनि उहाँले दिनुभयो ।








प्रतिक्रिया राख्नुहोस्