तपाईँ सुन्दै हुनुहुन्छः

थारु समुदायमा खोजनी–बोजनी सप्ताह जारी 

कञ्चनपुर । थारु समुदायमा माघको पहिलो साता खोजनी–बोजनी गर्ने प्रचलन रहेको छ । 

माघ १ गतेका दिन नयाँ वर्ष सुरु भएको मान्ने थारु समुदायले यो सातालाई खोजनी–बोजनी सप्ताहको रूपमा लिने गरेका छन् । 

खोजनी–बोजनी अन्तर्गत घरपरिवारको हकमा सबै विषयहरूमा समीक्षा गर्ने, वर्षभर भए गरेका आर्थिक कारोबारको अवस्था बारे परिवारजनलाई जानकारी गराउने, बाहिरी ऋण कति ? बाहिरी लगानी कति ? मौजुदा आर्थिक अवस्था कस्तो ?, घरपरिवारमा एक अर्कोप्रति चित्त नबुझेका विषयहरूमा सामूहिक गुनासो सुनुवाइ; छलफल पछि निराकरण, संयुक्त परिवारमा अब उपरान्त सँगै बस्ने अथवा छुट्टिएर बस्ने ? यसैदिन निर्णय गर्ने प्रचलन रहेको छ । 

संयुक्त मै बस्ने निधो भयो भने विभिन्न बाचा, कबोल तथा शपथसहित आगामी कार्य योजना र कामको बाँडफाँड गर्ने गरिएको थारु संस्कृतिका जानकार मेवाराम चौधरीले जानकारी दिनुभयो । 

गाउँ टोलको हकमा भलमन्सा र चौकीदारले वर्षभरि भए गरेका भूमिका तथा काम कारबाहीको समीक्षा, सामूहिक आर्थिक कारोबारको हिसाबकिताब तथा लेखाजोखा, पुनः भलमन्सा र चौकीदार चयन प्रक्रिया, भलमन्सा र चौकीदार फेरबदल अथवा उनीहरूलाई नै निरन्तरता, सार्वजनिक सरोकारका विषयहरूमा कार्य योजना बनाउने लगायतका कार्यहरू गरिन्छ । 

पछिल्लो केही वर्षयता भने युवापुस्तालाई नेतृत्व हस्तान्तरण गर्ने क्रम समेत बढेको कञ्चनपुरको बेलौरीस्थित सुदर्शनपुर गाउँका युवा भलमन्सा किसन गम्वा बताउनुहुन्छ ।

गाउँमा हुने हरेक सार्वजनिक कार्यहरू, गाह्रो अप्ठ्यारो परेकालाई सहयोग गर्नेदेखि सार्वजनिक वादविवादको मिलापत्रसम्मको भूमिका भलमन्सा सहितको नेतृत्वकै हुन्छ । 

स्थानीय तहको निर्वाचन पश्चात् जनप्रतिनिधि चयन भए पनि थारु गाउँ बस्तीमा बडघर वा भलमन्साको भूमिकालाई अहिले पनि महत्त्वपूर्ण मान्ने गरिएको छ । 

जनप्रतिनिधिहरूले पनि गाउँका हरेक कार्यहरूमा भलमन्सामार्फत सन्देश प्रवाह गर्ने गरेका छन् । कञ्चनपुरको बेलौरी नगरपालिकाले त आठौँ नगर सभाबाटै बडघर भलमन्सा सम्बन्धी ऐन नै पारित गरेर कार्यान्वयन गरिरहेको बेलौरी नगरपालिकाका नगर प्रमुख पोतिलाल चौधरीको भनाइ छ । 

समुदायमा रहेका सकारात्मक अभ्यास, परम्परा र संस्कृति संरक्षणका लागि योगदान पुर्‍याउन र प्रजातान्त्रिक प्रक्रियामा आधारित बडघर भलमन्सा प्रथालाई जीवन्त राख्नुपर्नेमा थारु अगुवाहरूको जोड छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button