तपाईँ सुन्दै हुनुहुन्छः

रेडियो बहस : तरकारी र फलफूल खेतीमा लगानी बढाउनुपर्नेमा किसानहरूको जोड

डडेल्धुरा । डडेल्धुराका किसानहरुले तरकारी र फलफूल खेतीमा सरकारको लगानी बढाउनुपर्नेमा जोड दिनुभएको छ ।

रेडियो नेपालद्वारा आयोजित ‘व्यावसायिक तरकारी तथा फलफूल खेती र समृद्धिमा योगदान’ विषयक स्थलगत रेडियो बहस कार्यक्रममा सहभागी डडेल्धुराका अगुवा किसानहरुले तरकारी र फलफूल खेतीमा सरकारको लगानी बढाउनुपर्नेमा जोड दिनुभयो ।

असि ग्राम कृषि तथा पशुपालन समूहका अध्यक्ष चन्द्रा देवी अवस्थीले तरकारी र फलफूल खेतीबाटै आफूहरूले राम्रोसँग घरधन्दा चलाइरहेको सुनाउनुभयो ।

गन्यापधुरा गाउँपालिका–१ का अगुवा किसान प्रसाद अवस्थीले पछिल्लो समय तरकारी र फलफूल खेती व्यावसायिक रुपमा अघि बढ्न थालेको बताउनुभयो । भागेश्वर कृषि तथा पशुपालन फर्मका सञ्चालक समेत रहेका अवस्थीले बर्सेनि ८० लाख भन्दा बढीको कारोबार भइरहेको बताउनुभयो ।

सरकारले वास्तविक किसानलाई सहयोग पुग्ने गरी अनुदान लक्षित कार्यक्रम ल्याउन सके कृषि क्षेत्रबाट नै बेरोजगारीको अन्त्य हुने अनुभव र धारणा अवस्थीले राख्नुभयो ।

शुभ लक्ष्मी साना किसान कृषि सहकारीका संस्था लिमिटेड डडेल्धुराका प्रबन्धक लोकेन्द्र ओझाले कृषि क्षेत्रलाई व्यावसायीकरण गर्दै किसानका लागि सर्वसुलभ बजार क्षेत्र निर्माण गर्न सरकारले सघाउनुपर्ने बताउनुभयो ।

कृषि ज्ञान केन्द्र डडेल्धुराका प्रमुख खेमराज पनेरुले पछिल्लो समयमा कृषि क्षेत्रमा सरकारको लगानी बढ्दै गइरहेको बताउनुभयो । सरकारले पछिल्लो समय तरकारी, फलफूल र पशुपन्छी पालन व्यावसायिक रुपमा गर्नेहरूका लागि अनुदान कार्यक्रम समेत ल्याएको बताउनुहुँदै प्रमुख पनेरुले गरिखाने किसानहरू भन्दा ठगिखाने किसानहरूलाई सबैले निरुत्साहित गर्नुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा सुदूरपश्चिम प्रदेश सभाका सदस्य सरस्वती खड्काले किसानहरूका उत्पादनलाई बजार भाउ देखाउने र सरकारले गरेको लगानीको सही सदुपयोग गर्न सकिए कृषि क्षेत्रबाट रोजगारी सिर्जना र विस्तार गर्न सकिने बताउनुभयो ।

डडेल्धुराको अमरगढी नगरपालिकामा सम्पन्न स्थलगत रेडियो बहस कार्यक्रममा उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष दिपक महता, पत्रकार महासङ्घका अध्यक्ष हिक्मत बहादुर सिंह, स्थानीय जनप्रतिनिधि, उद्योगी व्यवसायी, अधिकारकर्मी र सञ्चारकर्मीहरूको सहभागिता थियो ।

रेडियो नेपालका मुख्य कार्यक्रम अधिकृत उद्धव सिंह चुवागडीले कार्यक्रमको सहजीकरण गर्नुभएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button