तपाईँ सुन्दै हुनुहुन्छः

स्व.गोपाल गिरी क्रियाशील पत्रकारिता पुरस्कार पासवानलाई

वीरगञ्ज । यस वर्षको स्वर्गीय गोपाल गिरी क्रियाशील पत्रकारिता पुरस्कारबाट वीरगन्जका पत्रकार बृजलाल पासवान पुरस्कृत हुनुभएको छ ।

नेपाल पत्रकार महासङ्घ पर्सा शाखाले सोमबार आयोजना गरेको कार्यक्रममा प्रमुख अतिथि पर्सा क्षेत्र नम्बर २ का प्रतिनिधि सभा सदस्य अजय चौरसियाले नगद ५० हजार राशिको उक्त पुरस्कारसहित कदर पत्र पासवानलाई प्रदान गर्नुभयो ।

त्यस अवसरमा नेपाल पत्रकार महासङ्घका केन्द्रीय सचिव दिपेन्द्र चौहान, पर्सा अध्यक्ष अनुप तिवारी, पूर्व अध्यक्ष अशोक तिवारी, स्व. गिरीका सुपुत्र गिरिश गिरी, पर्साका प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुषाल, प्रहरी उपरीक्षक कोमल विक्रम शाह, सशस्त्र प्रहरी उपरीक्षक किशन कर्माचार्य लगायतले पुरस्कृत पासवानलाई दोसल्ला ओढाएर सम्मानित गर्नुभयो ।

पुरस्कृत पासवान राष्ट्रिय सहारा दैनिकका कार्यकारी सम्पादक तथा राष्ट्रिय दलित पत्रकार संघ पर्साका सल्लाहकार पनि हुन् । पत्रकार महासङ्घ पर्साका अध्यक्ष तिवारीको अध्यक्षतामा भएको पुरस्कार वितरण कार्यक्रममा प्रेस युनियनका केन्द्रीय सदस्य नीलिमा पौडेल, जिल्ला अध्यक्ष विजय चौहान, प्रेस चौतारीका जिल्ला अध्यक्ष तुलसी भण्डारी, समाजवादी प्रेस सङ्गठनका जिल्ला अध्यक्ष मनोज पटेल, नेकपा एकिकृत समाजवादीका वीरगन्ज अध्यक्ष मनोज चौधरी लगायतको उपस्थिति थियो ।

स्व. गिरी २०४७ सालमा पत्रकार महासङ्घ पर्सा शाखाको अध्यक्ष हुनुहुन्थ्यो । तत्कालीन वीरगन्ज उपमहानगरको मनोनीत मेयर रहँदा २०६० साल माघ १ गते तत्कालीन माओवादीले गोपाल गिरीको हत्या गरेको थियो । उनै गिरीको सम्झनामा नेपाल पत्रकार महासङ्घ पर्साले यो पुरस्कार वितरण गर्दै आएको अध्यक्ष तिवारीले जानकारी दिनुभयो ।

यो पुरस्कारबाट यसअघि शत्रुघन नेपाल, ध्रुव साह, प्रताप श्रेष्ठ, महेशचन्द्र गौतम, विजय भण्डारी, केसी लामिछाने, श्याम बन्जारा, ओमप्रकाश खनाल, कन्हैयालाल केसरी र गया यादव पुरस्कृत भइसकेका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button