सल्यानका किसानको आम्दानीको स्रोत बन्दै सुन्तला
सल्यान । सुन्तला खेतीबाट सल्यानका किसानले राम्रो आम्दानी गर्दै आएका छन् । व्यावसायिक रुपमा सुन्तला खेती गर्दै आएका किसान राम्रो आम्दानी लिन सफल भएका छन् ।
परम्परागत खेती प्रणालीमा भन्दा कम मिहिनेत लाग्ने र आम्दानी पनि राम्रो हुने भएपछि जिल्लाका अधिकांश किसान व्यावसायिक सुन्तला खेतीमा जुटेका छन् ।

सुन्तला खेतीबाट वार्षिक रुपमा राम्रो आम्दानी हुँदै आइरहेको बागचौर नगरपालिका ८ का किसान भरतनाथ योगीले बताउनुभयो । ४५ रोपनी क्षेत्रफलमा सुन्तला खेती गर्दै आउनुभएका योगीले गत वर्ष मात्रै २७ लाख आम्दानी लिन सफल हुनुभएको थियो । यस वर्ष पनि सोही अनुपातमा आम्दानी हुने अनुमान रहेको उहाँले बताउनुभयो ।
सुन्तला खेती किसानहरूको पेन्सनका रुपमा लिन सकिने अर्का किसान ध्वज बहादुर चन्दको भनाई छ । बिरुवा हुर्काएपछि लामो समयसम्म लाभ लिन सकिने भएकाले यो व्यवसाय वृद्धवृद्धाहरुका लागि बाँच्ने आधार समेत रहेको उहाँको भनाई छ । गत वर्ष १० लाख ६० हजार आम्दानी गर्नुभएका चन्दले यो वर्ष सुन्तलाको उत्पादन कम भएकाले केही रकम घटन सक्ने बताउनुभयो ।

सल्यानका अन्य स्थान र बाह्य जिल्लाका सबै सुन्तला सकिएपछि मात्र व्यापारीहरू कोटमौला आउने गरेको उहाँको भनाई छ । ढिलो गरी बिक्री गर्दा किसानले राम्रो मूल्य पाउने भए पनि अर्को वर्ष उत्पादन अलि कम हुने गर्दछ । उहाँले भन्नुभयो ‘सिजनमा सुन्तला बिक्री गर्दा व्यापारीले ५० देखि ६० रुपैयाँ किलोभन्दा बढी हाल्दैनन् तर माघ पछि व्यापारीले १ सयदेखि ११० रुपैयाँ किलोसम्म बोटमै हाल्छन् ।’
व्यापारीहरू सुन्तलाको बगानमै गाडी ल्याएर आउने भएकाले बिक्रीको समस्या भन्दा पनि सुन्तलाको बोट टिकाउनेमा आफ्नो ध्यान बढी हुने गरेको किसान भुम बहादुर चन्दले बताउनुभयो । सुन्तलाको बजारीकरणका लागि समस्या नभएको तर क्रमिक रुपमा सुन्तलाको बोटहरू रोग लागेर मर्न थालेपछि भने चिन्ताले सताउन थालेको उहाँको भनाई छ । गत वर्ष तीन लाखको सुन्तला बिक्री गरेको बताउँदै यो वर्ष पनि त्यसकै सेरोफेरोमा कमाइ हुने बताउनुभयो ।
जिल्लामा १ हजार ६ बढी हेक्टर क्षेत्रफलमा सुन्तला खेती हुँदै आइरहेको छ । वार्षिक २५ करोड बढीको सुन्तला जिल्लाबाट निकासी हुने गरेको कृषि विकास कार्यालय सल्यानले जनाएको छ ।








प्रतिक्रिया राख्नुहोस्