मानव जाति र जनावरबिचको द्वन्द्व सबै मिलेर हल गर्नुपर्छ : उपप्रधानमन्त्री खड्का
काठमाडौँ । बर्दिया उपप्रधानमन्त्री एवम् रक्षामन्त्री पूर्णबहादुर खड्काले बर्दियामा मानव–जनावरबिचको द्वन्द्व स्थानीय समुदाय र तीनवटै तहका सरकार मिलेर हल गर्नुपर्ने बताउनुभएको छ ।

बाँसगढी औद्योगिक व्यापार मेलाको उद्घाटनका अवसरमा उहाँले निकुञ्ज क्षेत्रको विकाससँगै यस क्षेत्रमा वर्षेनी वन्यजन्तुको वृद्धि भएको र जङ्गली पशुपन्छीहरू उचित बासस्थान तथा आहार प्रजातिको खोजीमा निकुञ्ज क्षेत्र बाहिर निस्कँदा मानवको जीउ ज्यान खतरामा पर्नुका साथै बालीनालीमा समेत क्षति पुग्न गएको यो समस्याको समाधानका लागि सङ्घीय सरकार गम्भीर रहेको बताउनुभयो ।
सोही अवसरमा उपप्रधानमन्त्री खड्काले लुम्बिनी प्रदेशको अन्न भण्डारका रूपमा रहेको बर्दियामा सिँचाइ आयोजना लगायतका राष्ट्रिय गौरवका आयोजना निर्माण शीघ्र सम्पन्न गरी कृषि क्षेत्रमा आमूल परिवर्तन ल्याउनुपर्नेमा जोड दिनुभयो । यसका लागि सरकारले आवश्यक सहयोग उपलब्ध गराउने उहाँको भनाइ थियो ।

उपप्रधानमन्त्री खड्काले रासायनिक मलको अभाव, कृषियोग्य जमिनमा सिँचाइको अपर्याप्तता, कृषकहरूलाई उचित तालिम र प्रशिक्षणको अभाव, कृषिमा आधुनिक प्रविधि र पद्धतिको प्रयोग आवश्यक मात्रामा गर्न नसक्दा यहाँको कृषि क्षेत्रबाट जति मात्रामा फाइदा लिन सकिने हो त्यो लिन सकिएको बताउनुहुँदै प्रदेश र स्थानीय तहले कृषिको आधुनिकीकरण र व्यवसायीकरणमा मद्दत पुग्ने गरी कार्यक्रम कार्यान्वयन गर्न आवश्यक रहेकोमा जोड दिनुभयो ।
उपप्रधानमन्त्री खड्काले यस देशको अर्थतन्त्र सुधार र समाधानका लागि सरकारले प्रयास गरिरहेको र त्यसैका कारण अर्थतन्त्रमा सुधार देखिन थालेको भन्दै उद्योगी व्यवसायीलाई निराश नहुन आग्रह गर्नुभयो ।
महोत्सवले यस क्षेत्रको धार्मिक एवम् पर्यटकीय क्षेत्रको प्रचारप्रसार गर्दै आन्तरिक एवम् बाह्य पर्यटनको विकास गरी पर्यटन उद्योगलाई प्रवर्द्धन गर्न सहयोग पुग्नेमा उहाँले विश्वास व्यक्त गर्नुभयो । साथै स्थानीय तहमा सञ्चालित घरबास होमस्टेलाई थप व्यवस्थित गर्न समेत यसले उत्प्रेरित गर्ने उहाँको भनाइ छ ।
यस किसिमका औद्योगिक प्रदर्शनी तथा महोत्सवले साना तथा मझौला उद्योगको विकास गर्न सहयोग पुग्ने, यस क्षेत्रमा विभिन्न उद्यम व्यवसायका लागि लगानी विस्तार गर्न समेत प्रोत्साहन मिल्ने उहाँको भनाइ छ ।

सङ्घीय सरकारले बनाउने केही कानुन निर्माणमा ढिलाइ भए पनि अब आउने हिउँदे अधिवेशनमा सरकारले आवश्यक सङ्घीय कानुन बनाउने तयारी गरिरहेको उहाँले जानकारी दिनुभयो । ढिलोमा अब एक महिनामा सुकुम्वासीले पाउने लालपुर्जा लिँदा लिने राजश्वमा समेत सरकार घटाउने र त्यसले भूमिहीन तथा सुकुम्वासीले ठूलो राहत पाउने उपप्रधानमन्त्री खड्काको भनाइ थियो ।
उहाँले दलहरुबीच आस्था र बिचार अलग–अलग भए पनि विकास निर्माणका विषयमा सबै एक ठाउँ हुनुपर्नेमा जोड दिनुभयो ।







प्रतिक्रिया राख्नुहोस्