असई थमन विक हत्यामा जन्मकैद सजाय पाएका मोहन ठाकुर जेल चलान
महोत्तरी । मधेश आन्दोलनका क्रममा मारिएका सशस्त्र प्रहरी असई थमन वि.क. हत्या मुद्दामा जन्मकैद सजाय पाएका महोत्तरीको जलेश्वर नगरपालिका–९ निवासी मोहन ठाकुरलाई जेल चलान गरिएको छ ।
लेनदेन मुद्दामा सिन्धुली कारागारमा सजाय काटी छुट्नै लाग्दा प्रहरीले सोही ठाउँबाट उनलाई पुनः पक्राउ गरि थमन वि.क. हत्यामा दोषी करार भई जन्मकैद सजाय पाउनुभएकोमा प्रहरीले महोत्तरी जिल्ला अदालतमा बुझाएपछि जिल्ला अदालत महोत्तरीबाट सजाय भुक्तानी गर्न जलेश्वर कारागारमा बुझाएको छ ।

उहाँलाई गत मङ्सिर २८ गतेको जिल्ला अदालत महोत्तरीको फैसलाले दोषी करार भई गत पौष १३ गते जलेश्वर कारागार चलान गरिएको हो । उहाँको सजाय भने पौष १२ गते देखि गणना हुने छ । सोही मुद्दामा पहिलो पटक पक्राउ परि पुर्पक्षमा उनले २ महिना २५ दिन कारागारमा बसिसकेकोमा उनको २० वर्षको सजायबाट सोही समय कट्टा भई उनले थप १९ वर्ष ९ महिना ५ दिन सजाय भुक्तान गर्नु पर्ने हुन्छ ।
यता सोही मुद्दामा पहिले देखि नै पुर्पक्षमा रहेका प्रदीप साह माझी र संजय कुमार साहले समेत जन्मकैदको कुल बिस वर्ष सजाय मध्ये हालसम्म कारागारमा बसेको समय कट्टा गरि थप सजाय काट्नु पर्ने हुन्छ ।
२०७२ सालको मधेश आन्दोलनको समय हत्या गरिएका सशस्त्र प्रहरी असई थमन वि.क.को हत्या मुद्दामा जिल्ला अदालत महोत्तरीले गत मङ्सिर २८ गते फैसला सुनाउँदै प्रदीप साह माझी र संजय कुमार साह, मोहन ठाकुर सहित पूर्व राज्यमन्त्री तथा लोसपाको संसदीय दलका नेता अभिराम शर्मा, जलेश्वर अस्पतालका पूर्व अध्यक्ष सुरेश पाण्डेय र धर्मेन्द्र राय, जलेश्वर नगरपालिकाका पूर्व मेयर रामशंकर मिश्र साहीजी लगायतका सात जनालाई जन्मकैद फैसला सुनाएको थियो ।
उहाँहरूले यसैसँग लगाऊ रहेको आगजनी मुद्दामा थप ६ महिना कैद र १० लाख क्षतिपूर्ति समेत तिर्नु पर्ने फैसला रहेको छ । सोही घटनामा नाम जोडिएका एमालेको तर्फबाट महोत्तरी क्षेत्र नं. १ का प्रतिनिधिसभा सदस्य लक्ष्मी महतो कोइरी र जलेश्वर नगरपालिका ९ निवासी पवन कापरले सफाई पाउनुभएको थियो । यता १९ जनाको नाममा मुद्दा अझै मुल्तबी राखिएको छ ।
घटना यस्ताे भएकाे थियो
मधेश आन्दोलनको क्रममा २०७२ साल भाद्र २५ गते बिहान जलेश्वरमा केही व्यक्तिहरूले सशस्त्र असई थमन विकलाई कुटपिट गरि घाइते बनाएकोमा उहाँको उद्धार गरि जलेश्वर अस्पताल लगिएको र त्यहाँबाट थप उपचारको लागि जनकपुर लग्ने क्रममा महोत्तरी गाउँपालिकाको सोनुषडामा एम्बुलेन्स रोकी एम्बुलेन्सबाट थुतेर सोही ठाउँस्थित धान खेतमा हत्या गरिएको अवस्थामा शव फेला परेको थियो ।
भाद्र २३ गते नै सुरक्षाकर्मीको गोलीबाट रोहन चौधरी, रामविवेक यादव, विरेन्द्र विक्षा र अमित कापर गरि ४ जना आन्दोलनकारीको प्रहरीको गोलीबाट मृत्यु भएको थियो । सोही कारणले स्थानीयहरूमा सुरक्षाकर्मीप्रति व्यापक आक्रोश थियो । प्रशासनले भाद्र २३ गतेको घटना लगतै कर्फ्यु लगाएकोमा २५ गते बिहान केही समयको लागि कर्फ्यु खुकुलो गरेको थियो ।
सोही समय सशस्त्र असई विकलाई केही स्थानीयहरूले घेरा हाली कुटपिट गरि घाइते बनाएका थिए । यता भाद्र २३ र भाद्र २५ को घटना पछि पुनः भाद्र २७ गते सुरक्षाकर्मीले चलाएको गोलीबाट रामशिला देवी मण्डल र रोहन चौधरीका हजुरबुवा गणेश चौधरीको मृत्यु भयो ।







प्रतिक्रिया राख्नुहोस्