दुई पालिकाको शिविरमा अठार सय बढीको उपचार
भोजपुर । भोजपुरका दक्षिणी दुई पालिकामा सञ्चालन गरिएको निःशुल्क स्वास्थ्य शिविरमा एक हजार आठ सय ५५ जनाले सेवा पाउनुभएको छ ।

नोबेल मेडिकल कजेज टिचिङ हस्पिटल विराटनगरको सहयोगमा जिल्लाको हतुवागढी गाउँपालिकाको केन्द्र घोडेटार र आमचोक गाउँपालिकाको केन्द्र बालंखामा एक एक दिने निःशुल्क स्वास्थ्य शिविर सञ्चालन भएको हो । हतुवागढी गाउँपालिकाको केन्द्र घोडेटारमा रहेको सगरमाथा माध्यमिक विद्यालय परिसरमा पौष २३ गते र आमचोक गाउँपालिकाको केन्द्र बालंखामा पौष २४ गते शिविर सञ्चालन भएको छ ।
शिविरमा नोबेल मेडिकल कजेज टिचिङ हस्पिटल विराटनगरबाट आएको २३ जनाको विशेषज्ञ टोलीले ती क्षेत्रका नागरिकलाई स्वास्थ्य सेवा प्रदान गरेको थियो ।

हतुवागढी गाउँपालिकामा सञ्चालित शिविरमा सात सय ९३ जनाले स्वास्थ्य परिक्षण गराएको शिविरका संयोजक जनक घलेले बताउनुभयो । उहाँका अनुसार शिविरमा चार सय २८ जना पुरुष र तीन सय ६६ जना महिलाले स्वास्थ्य परीक्षण सहितको सेवा लिनुभएको छ ।
आमचोक गाउँपालिकामा भएको शिविरमा एक हजार ६२ जना नागरिकले सेवा लिनुभएको संयोजक सन्तोष कोइरालाले जानकारी दिनुभयो । शिविरमा छ सय ७० जना महिला र तीन सय ९२ जना पुरुषले विशेषज्ञ सेवा लिनुभएको छ भने ९६ जनालाई थप उपचारका लागि नोबेल मेडिकल कजेज टिचिङ हस्पिटल रिफर गरिएको छ ।
प्रदेश सांसद बिनोद बान्तवाको पहल र संघीय सांसद तथा नोबेल मेडिकल कजेज टिचिङ हस्पिटलका सञ्चालक डा. सुनिल शर्माको सहयोगमा दुई पालिकामा शिविर सञ्चालन भएको छ ।
विशेषज्ञ स्वास्थ्यकर्मीबाट सेवा दिइएकाले शिविरबाट नागरिकहरूलाई समेत राहत मिलेको स्थानीयको भनाई रहेको छ । शिविरबाट सबैभन्दा बढी राहत बृद्धबृद्धाहरुलाई मिलेको विपिन निरौलाले बताउनुभयो ।







प्रतिक्रिया राख्नुहोस्