तपाईँ सुन्दै हुनुहुन्छः

आगामी १२ वर्षमा २८ हजार मेगावाट विद्युत् उत्पादन गर्ने तयारी

काठमाडौँ । ऊर्जा जलस्रोत तथा सिँचाई मन्त्री शक्तिबहादुर बस्नेतले आगामी  १२ वर्षमा २८ हजार मेगावाट विद्युत् उत्पादन गर्ने गरी काम भइरहेको बताउनुभएको छ ।

प्रतिनिधि सभा, पूर्वाधार विकास समितिको ट्रङ्क र डेडिकेटेड लाइन, नेपाल र भारत सरकारबिच भएको १० हजार मेगावाट विद्युत् व्यापार सहमति र पञ्चेश्वर परियोजनाको हालको अवस्थाका सम्बन्धमा छलफल गर्न आज सिंहदरबारमा बसेको बैठकमा मन्त्री बस्नेतले विद्युत् उत्पादनको गतिलाई हेरेर भारतसँग १० हजार मेगावाट विद्युत् व्यापार गर्ने सहमति गरिएको बताउनुभयो ।

मन्त्री बस्नेतले डेडिकेटेड र ट्रङ्क लाइनको विषयमा महान्यायाधिवक्ताको राय लिएर निचोडमा पुग्ने बताउनुभयो ।

मन्त्री बस्नेतले  ट्रङ्क र डेडिकेटेड लाइन उपयोग गरेबापत थप योगदान गर्नेगरी महसुल दर तिर्ने भन्ने भएपछि लोडसेडिङ बढाएर भए पनि उद्योगमा विद्युत् आपूर्ति बढाउने  सहमति त्यतिबेला भएको  बताउनुभयो । 

मन्त्री बस्नेतले विभिन्न समयमा गरी १५ अर्ब भन्दा बढी महसुल  उठ्न बाँकी रहेको बताउनुभयो ।

मन्त्री बस्नेतले आर्थिक लगानी  कस्ले कति  गर्ने भन्ने विषयमा द्विपक्षीय सहमति जुट्न नसक्दा महाकाली सन्धी र पञ्चेश्वर  परियोजना डिपीआर निर्माणको चरणमा रहेको बताउनुभयो । 

बैठकमा सांसद्हरुले विद्युत् महसुलको निर्धारण,प्रसारण लाइनको विस्तार र  व्यापार सम्झौताको विश्वसनीय आधारबिना भारतसँग विद्युत् व्यापार सम्झौता गरिएको भन्दै कार्यान्वयनको स्पष्ट आधार देखाउन माग गर्नुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button