राष्ट्रिय सभा सदस्य उम्मेदवार छनौटमा महामन्त्री थापाको फरक मत

काठमाडौँ । राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि नेपाली कांग्रेसको उम्मेदवार छनोटप्रति महामन्त्री गगन थापाले लिखित असहमति जनाउनुभएको छ ।
उम्मेदवार चयनको मापदण्ड पालना नभएको र आग्रहपूर्ण निर्णय गरिएको भन्दै महामन्त्री थापाले दुई बुँदे लिखित असहमति जनाउनुभएको हो ।
यही पुस १२ गतेदेखि १४ गतेसम्म बसेको केन्द्रीय समिति बैठकले हालसम्म कुनै पनि अवसर नपाएका वा विभिन्न कारणले अवसरबाट वञ्चित भएका योग्य तथा लोकप्रिय व्यक्तिलाई राष्ट्रिय सभा उम्मेदवारमा प्राथमिकता दिने भनेर मापदण्ड बनाए पनि त्यसअनुसार नभएको भन्दै महामन्त्री थापाले असहमति जनाउनु भएको हो।
साथै सबै तह र तप्काकालाई समान ढंगले न्यायको अनुभूति र अवसरमा स्थान हुन्छ भन्ने विश्वास पार्टीमा पुनः एकपटक खण्डित भएको भन्दै थापाले यस्ता आग्रहपूर्ण निर्णयले पार्टीभित्रको लोकतन्त्रलाई समेत थप कमजोर बनाउने पनि उल्लेख गर्नुभयो।
फरक मत यस्तो छ :–
१.हाम्रो संविधानले राष्ट्रिय सभामा खासगरी प्रतिनिधिसभामा प्रतिनिधित्व हुन नसकेमा जाती, वर्ग र क्षेत्रको प्रतिनिधित्व र राष्ट्रिय जीवनका विभिन्न क्षेत्रमा विशिष्ट योगदान पुर्याएका एवं विज्ञ व्यक्तिहरूको उपस्थितिको परिकल्पना गरेको छ । यसैगरि नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको पुस १२ देखि १४ गतेसम्म बसेको बैठकले राष्ट्रिय सभा को उम्मेदवार चयन सम्बन्धमा “हालसम्म कुनैपनि अवसर नपाएका वा विभिन्न कारणले अवसरबाट वञ्चित भएका योग्य तथा लोकप्रिय व्यक्तिलाई प्राथमिकता दिने” लगायत को मापदण्ड तय गरेको थियो।
संसदीय बोर्ड को आजको बैठक ले उम्मेदवार को चयन गर्दा माथि उल्लेखित पक्षमा यथेष्ट ध्यान पुर्याउन सकेन।
२. यो निर्णयले पार्टीमा कुनै पनि आग्रह नराखीकन निर्णय हुन्छ, सबै तह र तप्काका साथीहरूलाई समान ढङ्गले न्यायको अनुभूति र अवसरमा स्थान हुन्छ भन्ने विश्वासलाई पुन एक पट्क खण्डित गरेको छ । यस्तो आग्रहपूर्ण निर्णयले पार्टीभित्रको लोकतन्त्रलाई समेत थप कमजोर बनाउँछ ।
अतः आजको निर्णय प्रती मेरो लिखित असहमति रहेको छ।
मेरो असहमति को बाबजुद बैठकमा बहुमत ले गरेको निर्णय कार्यान्वयन मा जाँदा मेरो पूर्ण सङ्ग्लग्नता रहने नै छ।








प्रतिक्रिया राख्नुहोस्