तपाईँ सुन्दै हुनुहुन्छः

कास्कीमा सहकारीको ३ अर्ब ठगी प्रकरणमा ९३ जनाविरुद्ध पक्राउ पुर्जी,  पूर्वरजिष्टार कारागार चलान

कास्की । पाँच सहकारीमा समस्याग्रस्त भएपछि  कास्कीका बचतकर्ताको करिब तीन अर्ब रकम जोखिममा परेको छ । हजारौँ बचत कर्ता जोडिएका ती सहकारीमा २ अर्ब ८५ करोड बराबर रकम जोखिममा परेको हो । समस्याग्रस्त भएर प्रहरीमा उजुरी परे पछि भएको अनुसन्धानबाट ९३ जनालाई प्रतिवादी बनाइएकोमा हालसम्म २५ जना पक्राउ परेका छन् ।

सूर्यदर्शन बचत तथा ऋण सहकारी, इमेज बचत तथा ऋण सहकारी, शिव शिखर बहुउद्देश्यीय सहकारी, मित्र मिलन बचत तथा ऋण सहकारी र बलिदानी बचत तथा ऋण सहकारी संस्था समस्याग्रस्त बनेका छन् ।

यी सहकारीका बचतकर्ता र सेयर सदस्यले कर्मचारी र सञ्चालकहरूले ठगेको भन्दै उजुरी दिएका हुन् । ती सहकारीको प्रारम्भिक अनुसन्धान सकेर जिल्ला सरकारी वकिलको कार्यालयले अदालतमा अभियोग पत्र दायर गरेको छ ।

सूर्यदर्शन सहकारी १९ हजार बचतकर्ताको रकम जोखिम
सूर्यदर्शन सहकारीले करिब १९ हजार बचतकर्ताको १ अर्ब ३५ करोड ५३ लाख रुपैयाँ जोखिममा पारेको छ । यो सबै भन्दा धेरै बचत कर्ता र ठुलो रकम हिनामिना हुने सहकारी हो ।

१ अर्ब ११ करोड ३४ लाख ठगी गरेको आरोपसहित उक्त सहकारीमा १ हजार ३५ जनाले प्रहरीमा जाहेरी दिएका छन् । १९ जनाविरुद्ध पक्राउ पुर्जी जारी गरिएकोमा उपाध्यक्ष कैलाश कुमार दर्लामी, कोषाध्यक्ष कुमार रम्तेल, सञ्चालक भविश्वर अर्याल र पूर्व सदस्य समेत रहेका शिव गुरुङ ९महेन्द्र भोटे० सहित चार जना मात्रै पक्राउ परेका छन् । मुख्य अभियुक्त सहकारीका अध्यक्ष जीवी राईसहित अन्य फरार छन् । पक्राउ परेका चारै जनालाई पुर्पक्षका लागि थुनामा पठाइएको छ ।

इमेज सहकारीको ६५ करोड बचत रुपैयाँ जोखिममा
इमेज सहकारीमा रहेको करिब ६५ करोड बचत रुपैयाँ जोखिममा परेको छ । ५२४ बचत कर्ताले प्रहरीमा उजुरी दिएका छन् । उजुरी दिने बचतकर्ताले ५७ करोड ९४ लाख रुपैयाँ ठगी गरेको दाबी गरेका छन् । अध्यक्ष चित्रबहादुर भण्डारी सहित आरोपित ६ जनालाई प्रहरीले पक्राउ गरेको छ भने, अझै ९ जना फरार रहेका छन् । पक्राउ परेका ४ जना धरौटीमा रिहा भएका छन् ।

शिव शिखर सहकारी ७० बचतकर्ताको ५४ करोड २३ लाख रुपैयाँ जोखिममा
शिव शिखर सहकारीका कर्मचारी र सञ्चालक गरी ११ जनाविरुद्ध एक हजार एक सय ३९ जनाले उजुरी दर्ता गराएका छन् । उक्त सहकारीमा ७ हजार १ सय ७० बचतकर्ताले जम्मा गरेको ५४ करोड २३ लाख रुपैयाँ जोखिममा परेको छ । बचतकर्ता मध्य १ हजार १ सय २९ जनाले ४३ करोड ५९ लाख रुपैयाँ ठगी भएको भन्दै उजुरी दिएको कास्की प्रहरी प्रवक्ता श्रवण कुमार विकले जानकारी दिनु भयो । उजुरीको आधारमा ११ जनाविरुद्ध पक्राउ पुर्जी जारी भएकोमा पक्राउ परेका ४ जनालाई अदालतले पुर्पक्षका लागि कारागार चलान गरेको छ ।

बलिदानी सहकारी १० करोड ६९ लाख रुपैयाँ जोखिममा
बलिदानी सहकारीकामा आबद्ध ६ हजार ३ सय ४५ जना बचतकर्ताको १० करोड ६९ लाख रुपैयाँ जोखिममा परेको छ । एक सय ९८ जनाले ४ करोड २८ लाख बचत रकम ठगी गरेको भन्दै १५ जनाविरुद्ध उजुरी गरेका छन् । प्रहरीले उनीहरू विरुद्ध पक्राउ पुर्जी जारी गरे पनि अहिलेसम्म अध्यक्ष अजय श्रेष्ठ, उपाध्यक्ष र कोषाध्यक्षसहित ५ जना मात्रै पक्राउ परेका छन् । पक्राउ परेकामध्ये ३ जना पुर्पक्षका लागि कारागार चलान भएका छन् ।

मित्र मिलन सहकारी
सहकारीको रकम हिनामिना गरेको आरोपमा पछिल्लो पटक मित्र मिलन सहकारीविरुद्ध पनि उजुरी परेको छ । उक्त सहकारीले ३ हजार ४ सय ४६ बचतकर्ताको ३१ करोड ७८ लाख बचत रकम जोखिममा पारेको छ । सहकारीका सदस्य ७ सय १४ जनाले २० करोड ५० लाख ठगिएको आरोप लगाउँदै यही पुस ६ मा प्रहरीमा उजुरी दर्ता भएको थियो । सहकारी ठगीमा ३३ जनाविरुद्ध पक्राउ पुर्जी जारी भएकोमा अध्यक्ष रमण पौडेलेसहित ६ जना पक्राउ परेका छन् भने अन्य अझै फरार छन् ।

बचतकर्ताले उजुरी गरेकाहरू विरुद्ध प्रहरीले पक्राउ पुर्जी जारी गरेको छ । पक्राउ पुर्जी जारी भएकाहरू धेरैजसो फरार छन् । पक्राउ परेकामाथि अनुसन्धान र फरारहरूको खोजी भइरहेको कास्कीका प्रहरी प्रवक्ता श्रवणकुमार विकले जानकारी दिनु भयो ।

सहकारी ठगीको आरोपमा पक्राउ पर्नेमा सहकारी रजिष्ट्रार कार्यालय गण्डकीका पूर्वरजिष्टार पनि छन् । सहकारी रजिष्ट्रारको कार्यालय गण्डकीका पूर्वरजिष्ट्रार उदयबहादुर पराजुलीलाई यही पुस ११ गते कार्यकक्षबाटै पक्राउ गरिएको थियो । उनी पर्वतको कुश्मा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हुन् ।

मित्रमिलन बचत तथा ऋण सहकारी ठगीको आरोपमा पक्राउ परेका पराजुली मङ्गलवार पुर्पक्षका लागि कास्की कारागार चलान भएका छन् । पराजुलीमाथि तत्कालीन सहकारी रजिष्टार हुँदा उक्त सहकारीको कार्यक्षेत्र विस्तारको अनुमति दिने क्रममा एक करोड पाँच लाख रुपैयाँ घुस लिएको आरोप छ ।

सोही सहकारी ठगीमा जोडिएका पोखरा महानगरपालिका वडा नम्बर २१ का वडाध्यक्ष दीपकप्रसाद  सुवदेविरुद्ध पनि पक्राउ पुजी जारी भएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button