नेफा गण्डकी प्रदेशको अध्यक्षमा दवाडी
पोखरा । नेपाल प्याराग्लाइडिङ तथा ह्याङग्लाइडिङ संघ (नेफा) गण्डकी प्रदेशको अध्यक्षमा वसन्तराज दवाडी चयन हुनु भएको छ ।
नेफा गण्डकीको शनिबार पोखरामा सम्पन्न प्रथम अधिवेशनले आगामी चार वर्षका लागि अध्यक्षमा दवाडी सर्वसम्मत रुपमा चयन हुनुभएको हो ।

त्यसै गरी सङ्घको प्रथम उपाध्यक्षमा भरत प्रसाद तिमिल्सिना, द्वितीय उपाध्यक्षमा रन देवी गुरुङ, सचिवमा शर्मिला शर्मा र सहसचिवमा सन्तोष काफ्ले निर्वाचित हुनुभएको हो । त्यस्तै सङ्घको सदस्यमा रिता श्रेष्ठ थापा, सविता तामाङ, जिम प्रसाद श्रेष्ठ र सुनिल रावल चयन हुनुभएको हो ।
यसैबिच, उक्त कार्यक्रमको उद्घाटन गर्दै प्रदेश खेलकुद परिषद् गण्डकीका सदस्य सचिव श्रीधर शर्माले पोखरामा खेलकुद र पर्यटनलाई जोड्न सके पर्यटकको बसाई लम्ब्याउन सकिने दाबी गर्नुभयो ।
नवौं राष्ट्रिय खेलकुद अन्तर्गत प्याराग्लाइडिङ खेलमा भएको दुखद दुर्घटनाको स्मरण गर्दै सदस्य सचिव शर्माले गण्डकी प्रदेशका सबै जिल्लामा प्याराग्लाइडिङ खेल विकासको सम्भावनाको खोजी गर्दै अगाडी बढ्न प्रदेश खेलकुद परिषद् तयार रहेको बताउनुभयो ।
नेफाका केन्द्रिय अध्यक्ष भुपेन्द्र चाम्लिङले नेफाले चाँडै नै बन्द रहेको सोलो उडान खोल्न सम्बन्धित मन्त्रालयहरुसंग छलफल अघि बढाएको बताउनुभयो ।
संघका वरिष्ठ उपाध्यक्ष एवं संविधान सभाका सदस्य किरण राईले साहसिक खेलको विकास नेपालमा समय सापेक्ष अनुसार विकास हुन नसकेकोमा गुनासो गर्नुभयो ।
नेपाल पर्यटन बोर्डका पूर्व सदस्य वासुदेव त्रिपाठीले पोखरा अब चाँडै पर्यटन राजधानीको रुपमा घोषणा हुन गइरहेकोले पर्यटनको राजधानीका लागि प्याराग्लाइडिङ लगायत अन्य साहसिक खेलका गन्तव्यहरूको पहिचान र विकास आवश्यक रहने कुरामा जोड दिनुभयो ।







प्रतिक्रिया राख्नुहोस्