तपाईँ सुन्दै हुनुहुन्छः

नवौँ जिल्ला स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता सुरु

म्याग्दी । सदरमुकाम बेनीमा नवौँ जिल्ला स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड खेलकुद प्रतियोगिता सुरु भएको छ ।

जिल्ला खेलकुद विकास समिति म्याग्दीको आयोजनामा बेनी स्थित खुलामञ्चमा सञ्चालन भएको प्रतियोगितामा पालिकास्तरीय प्रतियोगिताहरूबाट छनौट भएर आएका खेलाहरूले सहभागिता जनाएका छन् ।

प्रतियोगिताको जिल्ला समन्वय समितिका प्रमुख राजकुमार थापाले उद्घाटन गर्नुभएको छ । जिल्लाबाट भलिबल, कराँते लगायतका विविध खेलमा राष्ट्रिय पहिचान बनाउन सफल खेलाडीहरू उत्पादन भएको स्मरण गर्दै उहाँले विद्यार्थीहरूले अध्ययन सँगसँगै विद्यालय तहबाटै खेलकुद क्षमता र प्रतिभालाई समेत निखार ल्याउन आवश्यक रहेकोमा जोड दिनुभयो ।

प्रतियोगिताको उद्घाटन खेलमा १५ सय मिटर दौड प्रतियोगितामा छात्रतर्फ मालिका गाउँपालिकाका विशाल सुनारले स्वर्ण, रघुगंगा गाउँपालिकाका सुझाव पुर्जाले रजत र बेनी नगरपालिकाका ईश्वर न्यौपानेले कास्य पदक जितेका छन् । त्यसैगरि छात्रातर्फ रघुगंगाका कञ्चन भण्डारीले स्वर्ण, सोनिया खड्काले रजत र धौलागिरि गाउँपालिकाका अञ्जना विकले कास्य पदक जितेका छन् ।

प्रतियोगितामा पदक विजेता खेलाडीहरूलाई जिसस प्रमुख थापा, प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकाल, रघुगंगा गाउँपालिकाका उपाध्यक्ष प्रेमकुमारी पुन, मङ्गला गाउँपालिकाका उपाध्यक्ष प्रेमकुमारी क्षेत्री, प्रहरी नायब उपरिक्षक मदन कुँवर लगायतले पुरस्कार वितरण गर्नुभएको थियो ।

कार्यक्रममा राष्ट्रिय महिला भलिबलका कप्तान अरुणा शाही र कराँतेमा अन्तर्राष्ट्रिय पदक विजेता खेलाडी आर्सल गर्बुजालाई सम्मान समेत गरिएको थियो ।

दुई दिनसम्म सञ्चालन हुने प्रतियोगितामा भलिबल, कबड्डी, कराँते र एथलेटिक्समा विद्यातर्फ जिल्लाका ६ स्थानीय तहबाट व्यवस्थापकीय टिमसहित आठ सय जना खेलाडी सहभागी भएको जिल्ला खेलकुद विकास समितिका अध्यक्ष दिनेश केसीले जानकारी दिनुभयो ।

यस प्रतियोगितामा ६६ वटा स्वर्णमा प्रतिस्पर्धा गराइन्छ । आठौँ राष्ट्रपति कपमा प्रथम, द्वितीय र तृतीय हुने पालिकाले क्रमशः २० हजार, १५ हजार र १० हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र पुरस्कार प्रदान गरिने छ । यहाँ स्वर्ण जित्ने खेलाडीलाई नवलपुरमा हुने नवौँ प्रदेश स्तरीय राष्ट्रपति खेलकुद प्रतियोगितामा सहभागी गराइने छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button