तपाईँ सुन्दै हुनुहुन्छः

रामारोशन गाउँपालिकामा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

अछाम । अछामको रामारोशन गाउँपालिकामा १४ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता आज शुक्रबार बाट सुरु भएको छ ।

रामारोशन गाउँपालिका –५ को पातल माविमा सुरु भएको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उद्घाटन कार्यक्रमका प्रमुख अतिथि सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री झपट साउदले गर्नुभयो ।

रामारोशन गाउँपालिकाका अध्यक्ष मानबहादुर साउद विशिष्ट अतिथि रहेको उद्घाटन कार्यक्रममा रामारोशन गाउँपालिका भित्रका माध्यमिक विद्यालयको प्रतियोगितामा सहभागिता रहेको छ ।

आफ्नै गृह प्रदेशमा आइपुगेका मन्त्री साउदले यो क्षेत्रको शैक्षिक र खेल क्षेत्रको विकासका लागि आफू सधैँ तयार रहेको बताउनुभयो ।

कार्यक्रममा खेलाडी विद्यार्थीलाई शुभकामना दिँदै मन्त्री साउदले जिल्ला हँुदै प्रदेश र केन्द्रसम्म रामारोशनका विद्यार्थी खेलाडीको प्रतिभा देखिन पाइने विश्वास व्यक्त गर्नुभयो । मन्त्री साउदले शारीरिक र मानसिक स्वास्थ्यका लागि खेलकुद अपरिहार्य भएको बताउनुभयो ।

कार्यक्रममा विशिष्ट अतिथिको रुपमा प्रतियोगितालाई सम्बोधन गर्दै गाउँपालिका अध्यक्ष मानबहादुर साउदले पालिकाले खेल क्षेत्रका लागि विशेष सहयोग गर्ने बताउनुभयो ।

गाउँपालिकाबाट छनोट भएर जिल्ला स्तरीय प्रतियोगितासम्म पुग्ने खेलाडी टिमलाई शुभकामना दिँदै साउदले गाउँपालिका नै जिल्ला स्तरीय प्रतियोगिताको उपाधि ल्याउने गरि तयारी गर्न उनले खेलाडी विद्यार्थीलाई आग्रह गर्नुभयो ।

प्रतियोगितामा भलिबल, कबड्डी, दौड, हाइजम्प, लङ जम्प लगायतका खेल समावेश गरिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button