तपाईँ सुन्दै हुनुहुन्छः

पाथीभरा मन्दिरबाट सङ्कलित सुन तथा चाँदीको रिफाइन सुरु

ताप्लेजुङ । ताप्लेजुङमा अवस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा(मुकुम्लुङ) मन्दिरबाट सङ्कलित सुन तथा चाँदीलाई रिफाइन गर्न थालिएको छ । तीर्थयात्रीले मन्दिरमा चढाएको सुन तथा चाँदी सदरमुकाम फुङलिङमा रिफाइन थालिएको हो । पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक प्रजिन हाङवाङका अनुसार ९८ तोला ४१ लाल सुन तथा ९२ किलो ६ सय ५० ग्राम चाँदी र ८६ तोला ९० लाल सुन शुक्रबार देखि रिफाइन गर्न थालिएको बताउनुभयो ।

तीर्थयात्रीले २०७६ सालदेखि चढाएको चाँदी चार वर्षमा साढे ९२ किलो बढी भएको रहेछ, लामो समय यसै थन्किएकोले रिफाईन सुरु गरिएको पाथीभरा क्षेत्र विकास समितिका अध्यक्ष रक्की थेबेले बताउनुभयो । १५ महिना देखि सङ्कलित ९८ तोला ४१ लाल सुन चाही रिफाइन पछि सुन चाँदीलाई समितिको निर्णय अनुसार प्रचलित दरमा बिक्रीका लागि प्रक्रिया अघि बढाइने समेत जानकारी दिनुभयो । क्षेत्र विकासको कार्यालयमा पाथीभरा सुन चाँदी कला व्यवसायी सङ्घको संयोजनमा स्थानीय सुनचाँदी व्यवसायी मार्फत सुन तथा चाँदीलाई रिफाइन गरिरहेको छ । 

क्षेत्र विकास समितिका शम्भुप्रसाद गौतमको संयोजकत्वमा सुन चाँदी व्यवस्थापन उपसमिति गठन गरेको छ । सङ्कलित सुन चाँदी समितिले प्रहरीको रोहबरमा लकरमा राख्ने र सरोकारवालाको उपस्थितिमा रिफाइन गर्ने गर्दै आएको छ ।

पाथीभरा मन्दिरबाट सङ्कलित ६ हजार पाँच सय ३९.७७५ किलोग्राम तामा तथा १६ हजार ६ सय ३८.१०० किलोग्राम बराबर घण्टी भण्डारण भएको अवस्थामा रहेको समेत पाथीभरा क्षेत्र विकास समितिले जनाएको छ । यता पाथीभरा क्षेत्रमा मङ्सिर मसान्त सम्ममा कुल आठ करोड ४५ लाख ९४ हजार तिन सय ३६ रुपियाँ भेटी रकम सङ्कलन भएको हो । कात्तिक र मङ्सिर महिनामा मात्र ६८ लाख ११ हजार एक सय १० रुपियाँ भेटी सङ्कलन भएको समितिले जनाएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button