तपाईँ सुन्दै हुनुहुन्छः

विशाल महादेव मूर्तिलाई थप आकर्षण गर्न रंगरोगन गर्न सुरु 

पोखरा । पोखराको नयाँ पर्यटकीय गन्तव्य विशाल महादेवको मूर्तिलाई थप आकर्षण गर्न रंगरोगन गर्न सुरु गरिएको छ । विशाल महादेव (भुमेश्वर) मूर्तिको केही भागमा रङ्ग खुइलिएसँगै मूर्तिलाई थप आकर्षण बनाउन हाल रंगरोगन गर्न लागिएको पुम्दीकोट कोट विकास समितिका अध्यक्ष चन्द्रकान्त बरालले बताउनु भयो । 

उहाँका अनुसार करिब १४ लाखको लागतमा विशाल महादेवको मूर्तिमा रंगरोगन हुने भएको छ भने करिब २ महिनासम्म त्यसको रंगरोगनको काम हुने भएको छ । पोखरा क्षेत्रमा रहेका अनुभवी कालीगणबाट हाल मूर्तिमा पुरानो रङ्ग खुइलिएकोले गर्दा त्यसलाई खुर्किएर फालेसँगै बल्ल रंगरोगन गरिने भएको हो । 

महादेवको विशाल मूर्ति को दर्शन सहितको त्यहाँको दृश्यावलोकन गर्न हिजोआज अन्य दिनमा करिब २ हजार देखि सार्वजनिक बिदाको दिनमा भने ५ हजार जना आन्तरिक तथा बाह्य पर्यटकहरू जाने गरेको समितिका अध्यक्ष बरालले बताउनु भयो । गण्डकी प्रदेश सरकारबाट विनियोजन भएको ५० लाखको केही रकम रंगरोगनमा त केही रकम मुल गेट निर्माणको काम तीव्र गतिमा भई रहेको उहाँले जनाउनु भयो । 

५१ फिट अग्लो विशाल महादेवको मूर्ति, ३१ फिट अग्लो विशाल डमरु, विशाल महादेवको विशाल क्षेत्र कुण्ड (गङ्गा पोखरी) १०८ धारा जडित तेस्रो आँखा २१६ शिवलिङग, १०८ स्वर्गद्वारी सिँढी, शिव ताण्डव नृत्य तथा अन्तर्राष्ट्रिय ध्यान केन्द्र, मोनोरेलद्वारा भगवान् गणेश परिक्रमा, सुमेरु पर्वतमा कुमार पार्वतीको मृति, शौचालय सहित सुविधा सम्पन्न प्रशासनिक भवन, फूलमाला बिक्रीका लागि ४१ वटा व्यवसायीक सटर, कम्पाउन्ड वाल, २०० मिटर पक्की पहुँचमार्ग लगायतका भौतिक संरचना निर्माण भएको अध्यक्ष बरालले बताउनु भयो । 

पोखरा २२ मा रहेको विशाल महादेव मूर्ति परिसरमै धार्मिक एवं पर्यटकीय गन्तव्यको रुपमा हालै दुई करोडको लागतमा सुमेरु पर्वत निर्माण गरिएको छ । समितिले कुमार र पार्वतीको मूर्ति सहित अन्य भौतिक संरचना निर्माण गरी सुमेरु पर्वतको रुपमा हालै निर्माण गरेको हो । उक्त परियोजनामा बाँकी ३ करोड लगानी आवश्यक भएको अध्यक्ष बरालले बताउनु भयो । उक्त परियोजनामा लाईटिङ्गको लागी थप दुई करोड ५४ लाख र रुङगटा वैकुण्ठ हलको साउण्ड कन्ट्रोलका लागी करिब ४२ लाख गरि ५ करोड लाग्ने प्राविधिक ईष्टमेट रहेको अध्यक्ष बरालको दाबी छ । उक्त संरचना निर्माणमा हालसम्म करिब २७ करोड खर्च भएको समितिले जनाएको छ भने अझै १३ करोडको भौतिक संरचना निर्माण गर्न बाँकी रहेको जनाएको छ । 

पोखरामा आउने पर्यटकहरूलाई साँझमा लेजर लाइट मार्फत महादेवको मूर्तिलाई पर्दा बनाई शिव ताण्डव नृत्य, महादेवको शिव लिला समेत प्रदर्शनी गरिने परिकल्पना गरिएको अध्यक्ष बरालको भनाई छ । परियोजनाका परिमार्जित गुरुयोजनामा सुमेरु पर्वत नामकरण गरी भूमेश्वर महादेव देखि सुमेरु पर्वतसम्म पंहुचका लागि विद्युतीय चियर कार, ग्रिनेरी पार्क, व्यवस्थित पार्किङ स्थल निर्माण गर्ने विषयहरू समेटिएको उहाँले जनाउनु भयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button