तपाईँ सुन्दै हुनुहुन्छः

प्रतिस्पर्धामा अब्बल सावित हुन टेलिकमका व्यवस्थापक र कर्मचारीलाई मन्त्री शर्माको निर्देशन

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले प्रतिस्पर्धामा आफूलाई अब्बल सावित गर्दै बढीभन्दा बढी नाफा कमाउने गरी काम गर्न नेपाल टेलिकमका व्यवस्थापक र कर्मचारीलाई निर्देशन दिनुभएको छ ।

नेपाल राष्ट्रिय कर्मचारी सङ्गठन, नेपाल टेलिकम केन्द्रीय समितिको १७औँ वार्षिकोत्सवलाई आज भद्रकालीमा सम्बोधन गर्दै मन्त्री शर्माले पछिल्लो समयमा यस संस्थामा सुधार गर्न मेहनत गर्नुपर्ने स्थिति आएको बताउनुभयो । 

“संस्थाको राजस्वमा गिरावट आएको छ । तपाईँहरूले यसलाई हिजोको अवस्थामा फर्काउन निकै मेहनत गर्नुपर्नेछ । जनताले अझै पनि यसलाई विश्वास गरिरहेका छन्, त्यो विश्वासलाई अवसरका रुपमा लिएर काम गर्नुहोस्”, नेपाल सरकारका प्रवक्ता शर्माले भन्नुभयो, “संस्थाले नाफा कमाएमा देशको आर्थिक समृद्धिका साथै यहाँका कर्मचारीको सेवा सुविधा वृद्धिमा पनि योगदान पुग्नेछ ।” 

संस्था गिर्दै गएमा सुविधा कटौती हुनसक्ने उल्लेख गर्दै मन्त्री शर्माले यस्ता विषयमा सबै सङ्गठनको व्यावसायिक योजनासहित हातेमालो हुन सकोस् भन्नुभयो । गणतन्त्र प्राप्ति भइसकेपछि आफ्ना हक अधिकारको वकालतका साथै राजनीतिक दल र कर्मचारी सङ्गठनले ध्यान देशको आर्थिक समृद्धिमा हुनुपर्नेमा उहाँले जोड दिनुभयो । मन्त्री शर्माले दूरसञ्चार ऐन, २०५३ संशोधनको गृहकार्य भइरहेको र टेलिकमको नियमावलीलाई सामयिक संशोधन गरिने जानकारी दिनुभयो । रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button