स्याङ्बोचे र सोलुखुम्बुबाट ल्याइएको १९ वटा याक मनाङ र मुस्ताङमा नश्ल सुधारका लागि वितरण

पोखरा । गण्डकी प्रदेशको हिमालपारिका जिल्ला मनाङ र मुस्ताङ मा याकको नश्ल सुधारका लागि याक वितरण गरिएको छ । स्याङ्बोचे, सोलुखुम्बुबाट ल्याइएको उक्त याक मङ्गलवार बेलुका पोखरामा आयोजित एक समारोहका बिच गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले मुस्ताङका किसानलाई उक्त याक हस्तान्तरण गर्नु भएको हो ।
याक हस्तान्तरण गर्दै उहाँले उन्नत जातको याकबाट नश्ल सुधारमा मद्दत पुग्ने विश्वास व्यक्त गर्नु भयो । उक्त नश्ल सुधार कार्यक्रमले हिमाली क्षेत्रका किसानलाई फाइदा हुने बताउँदै त्यसको भरपूर्ण रुपमा उपभोग गर्न मुख्यमन्त्रीले आग्रह गर्नु भयो ।
नश्ल सुधारका लागि नेपालको सरकारी एक मात्र याक अनुवांशिक स्रोत केन्द्र स्याङ्बोचे, सोलुखुम्बुबाट करिब प्रति याक २० देखि २५ हजारमा खरिद गरि मुस्ताङ र मनाङ जिल्लाका कृषक, समूह/समितिलाई गण्डकी प्रदेश सरकार, कृषि तथा भूमि व्यवस्था मन्त्रालय, पशुपन्छी तथा मत्स्य बिकास निर्देशनालय मार्फत १९ वटा याक वितरण गरिएको निर्देशनालयका सूचना अधिकारी डा.सपनालक्ष्मी घिमिरेले बताउनु भयो ।

मुस्ताङ जिल्लाका लागि ल्याइएको १० वटा याक गण्डकी प्रदेशका मुख्यमन्त्री पाण्डे हस्तान्तरण गर्नु भएको हो भने बाँकी ९ वटा याक मनाङको चामेमा आज वितरण हुने मनाङ पुग्नु भएका निर्देशनालयका वरिष्ठ पशु बिकास अधिकृत डा.बालकुमार श्रेष्ठले बताउनु भयो । याकको नश्ल र जातीय सुधारको लागि पहिलो पटक उक्त याक(भाले) प्रजातिको करिब डेढ देखि दुई वर्षका याक वितरण गरिएको हो । सोलुखुम्बुबाट यही पुष १२ गते हिँडाएको उक्त याक आज मात्र मनाङमा पुगेको डा.श्रेष्ठले जनाउनु भयो । उक्त याक ४ दिन हिँडाइएको थियो भने बाँकी गाडीमा तापक्रम मिलाउँदै उनीहरुलाई सकुसल मनाङसम्म पुर्याएको उहाँले जनाउनु भयो ।







प्रतिक्रिया राख्नुहोस्