सुशासन प्रवर्द्धनका लागि अख्तियार अपरिहार्य संस्था : मुख्यमन्त्री कार्की
मोरङ । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले सुशासन प्रवर्द्धनका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोग अपरिहार्य संस्था भएको बताउनुभएको छ ।

आयोगको इटहरी प्रदेश कार्यालयद्वारा विराटनगरमा आयोजित भ्रष्टाचार नियन्त्रण तथा सुशासन प्रवर्द्धन सम्बन्धी प्रदेश स्तरीय अन्तरक्रियामा उहाँले आयोग हामी सबैको खबरदारी गर्ने सम्मानित संस्था भएकोले यसलाई समय सान्दर्भिक रुपमा परिकृत गर्दै लानुपर्ने बताउनुभयो ।
जनप्रतिनिधिले पाएको अधिकार दुरुपयोग नहोस् भन्नका लागि आयोगले काम गर्ने सहज वातावरण बनाएको उहाँको भनाई थियो ।
आयोगकी आयुक्त डा सुमित्रा श्रेष्ठ अमात्यले कर्मचारीहरूले जनताको पैसाबाट सञ्चालन गरिने विकास निर्माण कार्य गुणस्तरीय हुनुपर्ने बताउनुभयो ।
उहाँले विकास निर्माण कार्यको ठेक्का लगाउँदा पूर्व तयारी गर्न आग्रह गर्दै सार्वजनिक खरिद ऐन कानूनको पूर्ण पालना गर्नुपर्नेमा जोड दिनुभयो ।
प्रदेशका निमित्त प्रमुख सचिव ईश्वर कुमार गिरीले जनता केन्द्रित रहेर सुशासन प्रवर्द्धनमा लाग्न कर्मचारीहरूलाई आग्रह गर्नुभयो ।
आयोगका प्रदेश कार्यालय इटहरीका प्रमुख सुरेश न्यौपाने र सह न्यायाधिवक्ता पूजा खत्रीले भ्रष्टाचार नियन्त्रण र सुशासन प्रवर्द्धन विषयमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।
कार्यक्रममा प्रदेशका विभिन्न मन्त्रालयका चालु आर्थिक वर्षको मङ्सिर मसान्तसम्ममा दुई सय ११ उजुरी दर्ता भएको थियो भने ८० वटा फर्छ्यौट भएको जानकारी गराइएको थियो ।








प्रतिक्रिया राख्नुहोस्