तपाईँ सुन्दै हुनुहुन्छः

बागलुङको ताराखोलामा श्रम रोजगार बैङ्क सञ्चालन

बागलुङ । विदेश पलायनलाई घटाई युवालाई गाउँमै रोजगारी दिन बागलुङको ताराखोला गाउँपालिकाले ‘सहिद विश्व श्रम रोजगार बैङ्क’ सञ्चालनमा ल्याएको छ । गाउँपालिकाको सभा हलमा मङ्गलवार आयोजित समारोहमा उक्त श्रम रोजगार बैङ्कको कार्य सुचारु गरिएको हो ।

प्रतिनिधिसभा सदस्य एवं पूर्व शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलको उपस्थितिमा गाउँपालिकाका अध्यक्ष धनबहादुर विक ‘हिमाल’ले श्रम रोजगार बैङ्कमा आबद्ध ६७ जना सदस्यलाई सपथ ग्रहण गराउनुभएको थियो । एक जना आर्थिक, एक जना म्यानेजर र सुपर भाइजरसहित ७० युवायुवतीलाई गाउँमै रोजगारी सिर्जना, स्थानीय सीप र श्रमको सदुपयोग, मानव संसाधनमार्फत गाउँपालिकाको समग्र विकासलगायत उद्देश्य राखेर श्रम रोजगार बैङ्क सञ्चालनमा ल्याइएको अध्यक्ष धन बहादुर विकले बताउनुभयो ।

रोजगारमा आबद्ध सदस्यलाई गाउँपालिकाले सञ्चालन गर्ने विकास निर्माणका आयोजना, निजी क्षेत्र, निर्माण व्यवसाय, कृषि, सहकारी र उद्यमका विकासका काममा लगाउने भएको छ ।

स्थानीय दक्ष जनशक्ति परिचालन गरि विकास योजनालाई समयमै र गुणस्तरीय रुपमा सम्पन्न गराउने, युवाको सीप र दक्षताको प्रयोगमार्फत सामाजिक रूपान्तरण, सामाजिक विकृति न्यूनीकरण, श्रमिकको सम्मान र सुरक्षा गर्ने बैङ्कको उद्देश्य रहेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चिरञ्जीवी घिमिरेले बताउनुभयो ।

गाउँपालिकाले बजेट विनियोजन गरेका, संघीय र प्रदेशका आयोजनामा श्रम बैङ्कमार्फत जनशक्ति आपूर्ति गरिने उहाँले उल्लेख गर्नुभयो । गाउँपालिकाभित्र रहेका निर्माण व्यवसायी र सञ्चालकहरूलाई पनि रोजगार बैङ्कमा सूचिकृत प्रमुख प्रशासकीय अधिकृत घिमिरेले बताउनुभयो ।

चालु आर्थिक वर्षमा रु. तीन करोड छ लाख बजेट बराबरको योजना श्रम बैङ्कमार्फत कार्यान्वयन गरिने गाउँपालिकाका प्रशासकीय अधिकृत प्रकाश गैरेले बताउनुभयो ।

गाउँपालिकाले ताराखोलामा रहेका सबै दुई हजार दुई सय घरधुरीबाट १/१ जनालाई बैङ्कमा आबद्ध गराउने लक्ष्य लिएको छ । कार्यविधिमा दैनिक आठ घण्टा काम गर्ने मजदुरहरूलाई गाउँपालिकाको योजनामा प्रतिघण्टा रु. एक सय १०, प्रदेश, संघीय योजना र निजी क्षेत्रका काममा प्रतिघण्टा रु. एक सय १५ का दरले ज्याला उपलब्ध गराइने व्यवस्था छ ।

मासिक रु. १७ हजार तीन सय ज्यालामध्ये ३१ प्रतिशत सामाजिक सुरक्षा कोषमा जम्मा गरिने भएको छ । गाउँपालिकाले श्रमिकलाई काम दिन नसके वा श्रमिकको एक महिनाको ज्याला रु. दश हजार ८२० भन्दा कम दिएमा सामाजिक सुरक्षा कोषमा गाउँपालिकाले २० प्रतिशत र श्रमिकले ११ प्रतिशत जम्मा गर्ने व्यवस्था गरिएको छ ।

एक महिनाको ज्याला रु. दश हजार आठ सय २० भन्दा बढी भएमा गाउँपालिकाले दश प्रतिशत र श्रमिकले २१ प्रतिशत बराबरको रकम जम्मा गर्नुपर्नेछ । श्रम बैङ्कमा आबद्ध निर्माण व्यवसायीले सामाजिक सुरक्षा कोषमा २६ प्रतिशत र गाउँपालिकाले ६ प्रतिशत जम्मा गर्नेछन् ।

श्रम बैङ्कमा आबद्ध श्रमिक र आश्रित परिवारलाई सामाजिक सुरक्षा भत्ता, औषधी उपचार, मातृत्व सुरक्षा योजना, बिरामी बिदा, दुर्घटना बीमा, किरिया खर्च, शैक्षिक छात्रवृत्ति, पेन्सन लगायत सुविधा उपलब्ध गराइने गाउँपालिकाले जनाएको छ । एक जना श्रमिकको सामाजिक सुरक्षाका लागि उनीहरूको दश प्रतिशत सहभागितासहित वार्षिक रु. एक लाख १५ हजार १९ खर्च गरिने भएको छ ।

श्रम रोजगार बैङ्कमा आबद्ध सदस्यहरूका लागि कार्यस्थलमा मादक पदार्थ सेवन गर्न नपाउने, तोकिएको पोशाक र सामग्री सहित गाउँपालिकाले लगाएको काम गर्नुपर्ने, काममा अनुपस्थित हुँदा व्यवस्थापकलाई जानकारी गराउनुपर्ने, सार्वजनिक रुपमा गाउँपालिका विरुद्ध अभिव्यक्ति दिन नपाउने लगायत आचारसंहिता बनाइएको गाउँपालिकाका अध्यक्ष विकले बताउनुभयो ।

श्रम रोजगार बैङ्कमा आबद्ध चन्द्रबहादुर रोकाले गाउँपालिकाले युवालाई लक्ष्य गरि रोजगारको कार्यक्रम ल्याएकामा खुसी व्यक्त गर्नुभयो । केही दिनभित्रमा गाउँपालिकासँग सम्झौता गरेर सबै श्रमिक सदस्य कार्यस्थलमा खटिने उहाँको भनाइ छ । गाउँपालिकाका पाँच वटै वडाका युवा जनशक्ति श्रम रोजगार बैङ्कमा आबद्ध भएका छन् । युवाको आवेदन र वडा कार्यालयको सिफारिसका आधारमा गाउँ कार्यपालिकाले रोजगार बैङ्कमा आबद्ध हुने श्रमिकको छनोट गरेको थियो ।

१८ देखि ४० वर्ष उमेर समूहका युवाका अतिरिक्त प्राविधिक सिपमा दखल राख्ने ६० वर्षसम्मका व्यक्तिहरूलाई समेत आवश्यकताका आधारमा श्रम रोजगार बैङ्कमा आबद्ध गरिने गाउँपालिकाले जनाएको छ ।

प्रतिनिधिसभा सदस्य एवं पूर्व शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले श्रमिकको सम्मान र सुरक्षाका लागि ताराखोला गाउँपालिकाले देशमै नमुना कार्यक्रम सुरु गरेको बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button