तपाईँ सुन्दै हुनुहुन्छः

प्रथम प्रादेशिक कृषि यान्त्रीकरण प्रदर्शनी पुस २० देखि पोखरामा हुने    

पोखरा । पोखरामा यही पुस २० गतेदेखि प्रथम प्रादेशिक कृषि यान्त्रीकरण प्रदर्शनी हुने भएको छ । पोखरा प्रदर्शनी केन्द्रमा पुस २२ गतेसम्म सञ्चालन हुने उक्त प्रदर्शनीमा १० बढी मुलुकबाट कृषि ओैजार, उपकरण तथा प्रविधिहरू प्रदर्शनी एवं बिक्री गरिने भएको मङ्गलवार पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको हो । 

प्रदर्शनीमा कृषि औजार, उपकरण, प्रविधि उत्पादक उद्यमी व्यवसायीहरू, आयातकर्ता, वितरक, डिलर, सबडिलरहरु, सरकारी एवं गैरसरकारी संघ संस्थाहरू, कृषि विज्ञ, अनुसन्धानकर्ता, शैक्षिक संस्थाहरू, अनुसन्धान संस्थाहरू सेवा प्रदायक कृषि कृषक समूह, सहकारी संघ संस्थाहरू, बैङ्क तथा वित्तीय संस्थाहरूको सहभागिता हुने भएको छ । 

प्रदर्शनीमा ७० भन्दा बढी  व्यावसायिक तथा सेवामूलक स्टलहरू हुने भएको नेपाल कृषि मेसिनरी व्यापारी संघका अध्यक्ष कृष्ण शर्माले बताउनु भयो । उक्त कार्यक्रममा ४० जिल्लाका करिब ३० हजार सहभागी हुने अपेक्षा गरिएको उहाँले बताउनु भयो । 

प्रदर्शनीमा  करिब १० प्रतिशत छुट सहित ५ करोड भन्दा बढीको आर्थिक कारोबार हुने अपेक्षा गरिएको छ । कृषि यान्त्रीकरण प्रवर्द्धन सम्बन्धी गोष्ठी, सेमिनार, रैथाने बालीहरूको परिकार प्रदर्शन तथा कृषि जैविक विविधता संरक्षण सम्बन्धी प्रदर्शनी, कृषि जैविक विविधता संरक्षण सम्बन्धी छलफल अन्तरक्रिया हुने भएको छ ।

गण्डकी प्रदेशका, कृषि विकास निर्देशनालयका महानिर्देशक वासुदेव रेग्मीले उक्त प्रदर्शनीले यस क्षेत्रका किसानलाई राहत मिल्ने बताउनु भयो । प्रदेश सरकारको  ५ लाखको बजेटमा उक्त कार्यक्रम हुन लागेको उहाँले बताउनु भयो । शहर केन्द्रित, विदेश जाने युवा, बाँदर लगायतको समस्याले धेरै क्षेत्रमा जग्गा बाझो भएको उहाँको भनाई थियो । 

पोखरा महानगरपालिकाका कृषि महाशाखा प्रमुख मनोहर कडरियाले रैथाने बाली संरक्षण सहित कृषि यात्रीकीकरणमा पहुँच पुर्‍याउन यस्ता कार्यक्रमले सहयोग हुने बताउनु भयो ।

प्रदर्शनीमा नेपालको कृषि तथा पशुपालन क्षेत्रलाई यान्त्रीकरण, औद्योगीकरण, आधुनिकीकरण तथा व्यवसायीकरण गर्न टेवा पुर्‍याउने उद्देश्यले आयोजना गरिएको यस प्रदर्शनीमा आधुनिक कृषि, पशुपालन, मत्स्यपालन, पुष्प खेती, व्यवसायीक तरकारी खेती र प्रशोधन तथा बजारीकरण सम्बन्धी आधुनिक यन्त्र, उपकरण तथा प्रविधिका सामाग्री, बीउबिजन, आधुनिक सिँचाइ लगायतको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा रहेका प्रतिष्ठित कम्पनीहरूको सहभागिता रहने सङ्घले जनाएको छ । 

गण्डकी प्रदेश, कृषि विकास निर्देशनालय मालेपाटन, पोखरा, पोखरा महानगरपालिका, पोखरा, कास्की, नेपाल सरकार, कृषि पूर्वाधार विकास तथा कृषि यान्त्रीकरण प्रवर्द्धन केन्द्र, हरिहर भवन र यस सङ्घको संयुक्त आयोजनामा उक्त कार्यक्रम हुने भएको हो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button