तपाईँ सुन्दै हुनुहुन्छः

बालकुमारी घटनामा मारिएका युवकका परिवारलाई जनही १० लाख दिने सरकारको निर्णय

शान्ति सुरक्षा कायम गर्न सबैलाई सरकारको आग्रह

काठमाडौँ । सरकारले शुक्रबार ललितपुरको बालकुमारीमा शुक्रबार भएको घटनामा परी निधन भएका दुई युवकका परिवारलाई क्षतिपूर्ति स्वरूप जनही रु १० लाख उपलब्ध गराउने भएको छ । 

प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको मन्त्रिपरिषद्को आकस्मिक बैठकले उक्त निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिनुभयो । 

उक्त घटनामा परी दैलेखका सुजन राउत र अछामका वीरेन्द्र शाहको निधन भएको थियो । सरकारले मृतकप्रति श्रद्धाञ्जली र शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गरेको सरकारका प्रवक्ता समेत रहनुभएका मन्त्री शर्माले जानकारी दिनुभयो । 

उक्त घटनामा परी घाइते भएकाको उपचारको प्रबन्ध सरकारले मिलाउने भएको छ । घाइतेको उपचारका लागि अर्थ मन्त्रालयले गृह मन्त्रालयलाई आवश्यक बजेट उपलब्ध गराउने मन्त्रिपरिषद्ले निर्णय गरेको छ । साथै सरकारले शान्ति सुरक्षा कायम गर्न सबैलाई आग्रह गरेको छ । 

उक्त घटनाको छानबिन गर्न गृह मन्त्रालयले शुक्रबार नै समिति गठन गरेको जानकारी दिँदै मन्त्री शर्माले भविष्यमा यस्ता घटना हुन नदिनेतर्फ सरकार सचेत रहेको बताउनुभयो । 

फरक एक प्रसङ्गमा मन्त्री शर्माले सङ्घीय निजामती ऐन, सङ्घीय प्रहरी ऐनलगायत सङ्घीयता कार्यान्वयनसँग जोडिएका ऐनलाई शीघ्र जारी गर्न प्रधानमन्त्रीले प्रतिबद्धता व्यक्त गर्नुभएको जानकारी दिनुभयो । 

सातै प्रदेशका मुख्यमन्त्रीले आज प्रधानमन्त्रीलाई भेटेर सङ्घीयता कार्यान्वयनका निम्ति आवश्यक कानुन तत्काल जारी गर्न माग गर्नुभएको थियो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button