तपाईँ सुन्दै हुनुहुन्छः

सूर्यदर्शन सहकारीका उपाध्यक्ष पक्राउ

पोखरा । पोखराको सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्था लिमिटेका उपाध्यक्ष कैलाश कुमार दर्लामीलाई प्रहरीले पक्राउ गरेको छ । पोखरा ४ नालाकोमुखमा रहेको उक्त सहकारीका ३८ वर्षीय उपाध्यक्ष दर्लामीलाई बिहीबार रामेछापबाट प्रहरीले पक्राउ गरेको कास्की प्रहरीले जनाएको छ ।

सहकारीको रकम हिनामिना एवं ठगी गरेको आरोपमा रामेछाप लिखु तामाकोशी गा.पा. वडा नं. ७ घर घर भएका उपाध्यक्ष केही समय देखि फरार थिए । जिल्ला प्रहरी कार्यालय कास्कीमा गत साउन २२ गते उक्त सहकारीमा समस्या भएको भनी प्रहरी सामु निवेदन पेश भएसँगै १९ जना अभियुक्त भए पनि हालसम्म २ जना पक्राउ परेको कास्कीका प्रहरी प्रवक्ता डिएसपी श्रवण कुमार बि.क.ले बताउनुभयो ।

सहकारीका कोषाध्यक्ष कुमार रम्तेल यस अघि नै पक्राउ परिसकेका छन् । सहकारीमा आफूहरू ठगिएको भन्दै १ हजार ३५ जनाले प्रहरी सामु निवेदन दिए पनि १ अर्ब ११ करोड ३४ लाख ४३ हजार ४५ रुपैयाँ रकम हिनामिना गरेको प्रहरीले जनाएको छ ।

हाल समस्या भएका सहकारीहरू मध्य कास्कीमा सबै भन्दा ठुलो र धेरै बचतकर्ताहरू भएको सूर्यदर्शन सहकारी हो । यस सहकारीमा १८ हजार ७ सय बचतकर्ताको १ अर्ब ३५ करोड ५३ लाख ५४ हजार ८ सय ९९ रुपैयाँ हिनामिना भएको कास्की प्रहरीले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button