तपाईँ सुन्दै हुनुहुन्छः

माघ पहिलो साता मेलम्चीको पानी काठमाडौँमा : मन्त्री यादव

सिन्धुपाल्चोक । खानेपानी मन्त्री महेन्द्रराय यादवले निर्धारित समयमै मेलम्चीको पानी काठमाडौँमा पुग्ने बताउनुभएको छ । आज आयोजनाको मुहानस्थल अम्बाथानको अवलोकनमा आउनुभएका मन्त्री यादवले माघको पहिलो साता नै पानी काठमाडौँ पुग्ने दाबी गर्नुभयो ।

मन्त्री यादवले द्रुत गतिमा काम भइरहेको र निर्धारित समयमै पानी काठमाडौँमा पुग्ने कुरामा ढुक्क हुन उपत्यका वासीमा आग्रह गर्नुभयो । उहाँले आयोजनाका स्थानीय भेण्डरहरु, सप्लायर्स लगायतको समस्या समाधान गर्ने प्रतिबद्धतापछि अहिले तीव्र गतिमा काम भइरहेकाले तोकिएकै मितिमा पानी झार्न सकिने बताउनुभयो ।

आयोजनाका सिनियर डिभिजनल इन्जिनियर पदमबहादुर कुँवरले सरकारको लक्ष्य अनुसार पानी पठाउने गरि काम भइरहेको जानकारी दिनुभयो । उहाँले अम्बाथान स्थित ९ नम्बर २१ नम्बर र १७ नम्बरको गेट सफा गर्ने काम भइरहेकाले यहीँ गतिमा काम भइरहने हो भने लक्ष्य अनुसार पानी पठाउन सकिने बताउनुभयो । दैनिक १६/१७ घण्टा ३० देखि ३५ जनाको दरले काम भइरहेको कुँवरले जानकारी दिनुभयो ।

आयोजनाले क्षतिग्रस्त संरचना मर्मतपछि वर्षायाम सकिने बित्तिकै पुनः उपत्यकामा पानी वितरण गरिने जनाए पनि पुस लाग्दासमेत पानी वितरण नभएपछि काठमाडौँमा विरोध भइरहेको छ ।

अवलोकनमा मन्त्री यादवसँगै प्रदेश सभा सदस्य कौशल किशोर राय, खानेपानी विकास समितिका कार्यकारी निर्देशक जक्की अहमद अन्सारी, मेलम्ची खानेपानी विकास समितिका बोर्ड सदस्य विष्णुमणि आचार्य लगायत सहभागी हुनुहुन्थ्यो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button