तपाईँ सुन्दै हुनुहुन्छः

महिला शिक्षकले हाँकेको ज्ञानज्योति 

दाङ । दंगीशरण–७ बोकटीमा रहेको ज्ञानज्योति प्राथमिक विद्यालय महिला शिक्षकहरूले मात्रै सञ्चालन गरेका छन् । महिलाहरूको नेतृत्वमा नमूना काम हुन्छ भन्ने सावित गर्न महिला शिक्षकहरूले विद्यालय हाँकिरहेका हुन् । उनीहरूको कामलाई दंगीशरण गाउँपालिकाले समेत विश्वास गरेको छ ।

विद्यालयमा कार्यालय सहयोगीदेखि प्रधानाध्यापकसम्म महिला छन् । महिलाहरूको नेतृत्वमा अहिले एक सय सात जना बढी विद्यार्थीले पढिरहेका छन् । माना मुठी अन्न सङ्कलन गरेर २०५६ सालमा स्थापना भएको विद्यालयमा अहिलेसम्म तीन जना महिला शिक्षक प्रधानाध्यापक भएका छन् । 

दिवङ्गत दामोदर शर्माको सक्रियतामा स्थापना गरिएको र घनश्याम उपाध्यायले शिलान्यास गरेको विद्यालयमा अहिलेसम्म कोही पनि पुरुष शिक्षक प्रधानाध्यापक भएका छैनन् । विद्यालयमा २०५६ सालदेखि २०६४ सालसम्म बिमला शर्मा, २०६४ देखि २०७६ सालसम्म लक्ष्मी हमाल र २०७६ देखि हालसम्म यमकुमारी बस्नेत प्रधानाध्यापक भएर काम गरी रहनु भएको छ । 

सोही विद्यालयमा दंगीशरण–७ बोकटीकी पार्वती चौधरीका छोराले कक्षा ३ मा पढ्नुहुन्छ । आठ वर्षका छोरा प्रशान्त चौधरीलाई आमा पार्वतीले बिहान १० बज्नुभन्दा अघि विद्यालयमा छोड्न जानुपर्छ । बिहान पढ्न छोडेको छोरालाई लिन पार्वती पुनः बेलुका ४ बजे विद्यालय पुग्नुपर्छ । 

विद्यालय प्रशासनले सबै अभिभावकलाई विद्यार्थीलाई हरेक दिन बिहान विद्यालय छोड्ने र बेलुका विद्यार्थीलाई लिन आउन भनेपछि पार्वतीलाई जस्तै सबै अभिभावकले यसो गर्न थालेका हुन् । विद्यालय नजिक तुलसीपुर–सुर्खेत सडक खण्डमा सवारी साधन चल्ने भएका कारण सबै अभिभावकले सन्तानलाई छोड्न र लिन जानुपरेको हो ।

प्रशान्त चौधरीकी आमा पार्वतीले छोराको पढाइ राम्रै रहेको बताउनुभयो । पढाइमा गुनासो गर्ने कुनै ठाउँ नरहेको पार्वतीको भनाइ छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कालुप्रसाद चौधरीलाई शिक्षकहरूले राम्रै पढाइरहेको बताउनुभयो । उनीहरूले विद्यार्थीलाई गर्ने व्यवहार, बोली, भाषा तथा माया र सद्भावले पढाइ प्रभावकारी बनेको अध्यक्ष चौधरीले बताउनुभयो । हामीहरू पनि स्कुलमा जाँदा शिक्षकले गर्ने व्यवहार राम्रो भएको भन्दै अध्यक्ष चौधरीले अभिभावकले समेत पढाइमा केही गुनासो नगरेको बताउनुभयो ।

महिलाहरूले अवसर प्राप्त गरेमा नेतृत्व तहमा रहेर जिम्मेवारी पूरा गर्न सक्ने उनीहरूले उदाहरण पेश गरेका छन् । ज्ञानज्योति प्राथमिक विद्यालयमा पढ्ने विद्यार्थीको उत्तीर्ण औसत प्रतिशत ९५ पुगेको प्रधानाध्यापक यमकुमारी बस्नेतले बताउनुभयो । हरेक बर्ष यही ढंगले उत्तीर्ण हुने विद्यार्थीको सङ्ख्या रहेको प्रधानाध्यापक बस्नेतले जानकारी दिनुभयो । ‘विद्यार्थीले पनि राम्रोसँग पढिरहेका छन्’– प्रधानाध्यापक बस्नेतले भन्नुभयो– ‘हामीले गरेको कामको मूल्याङ्कन अभिभावकले गर्नुभएको छ ।’ 

विद्यालयमा एकजना दरबन्दी शिक्षक, दुई जना राहत शिक्षक, एक जना निजी शिक्षक, दुई जना बालविकास र एक जना कार्यालय सहयोगी गरी सात जना महिला शिक्षक तथा कर्मचारी कार्यरत छन् । दंगीशरण गाउँपालिका शिक्षा शाखा प्रमुख विनोद अधिकारीले पालिकाभित्र नमूनाका रुपमा महिला शिक्षकको मात्रै व्यवस्था गरिएको बताउनुभयो । सरुवा गर्ने क्रममा पनि ज्ञानज्योति विद्यालयमा महिला शिक्षकलाई पहिलो प्राथमिकता दिने गरेको शिक्षा शाखा प्रमुख बिनोद अधिकारीले बताउनुभयो । 

पढाइका रुपमा अब्बल भएपछि शिक्षा विकास तथा समन्वय इकाई दाङले २०७६ सालमा नमूना विद्यालयको रुपमा घोषणा गरेको थियो । नमूना विद्यालय घोषणा भएपछि हौसला मिलेको तत्कालीन प्रधानाध्यापक तथा शिक्षक लक्ष्मी हमालले बताउनुभयो । नमूना विद्यालय घोषणा भएपछि दंगीशरण गाउँपालिकाले ५० हजार प्रोत्साहन स्वरूप पुरस्कार समेत उपलब्ध गराएको थियो ।

आठ कठ्ठा जमिनमा फैलिएको विद्यालयको जग्गा भने आफ्नो होइन । सार्वजनिक रुपमा रहेको आठ कठ्ठा जग्गालाई स्थानीयको पहलमा संरक्षण गरेर विद्यालय स्थापना गरेका हुन् । सोही जग्गामा अहिले विद्यालय सञ्चालन भइरहेको छ । प्राथमिक विद्यालय सञ्चालनका लागि जग्गा पर्याप्त रहेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कालुप्रसाद चौधरीले जानकारी दिनुभयो । विद्यालयका लागि अब एउटा चार कोठे भवनको आवश्यकता रहेको अध्यक्ष चौधरीले बताउनुभयो । विद्यालयकी प्रधानाध्यापक यमकुमारी बस्नेतले चार कोठे भवन निर्माणका लागि गाउँपालिकाबाट आश्वासन पाएको बताउनुभयो ।

दंगीशरण–७ का वडाध्यक्ष रेशम वलीले विद्यालय नमूना बनेको भन्दै वडा कार्यालय मार्फत् एक जना निजी शिक्षकका लागि व्यवस्था गरिएको बताउनुभयो । भवन निर्माणका लागि पनि पहल भइरहेको वडाध्यक्ष वलीको भनाइ छ । नमूना विद्यालयलाई वृक्षारोपण गरेर ग्रीन विद्यालयका रुपमा विकास गर्ने प्रधानाध्यापक यमकुमारी बस्नेतको सपना छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button