तपाईँ सुन्दै हुनुहुन्छः

वामपन्थी शक्ति एकताबद्ध हुनुपर्छ : अध्यक्ष नेपाल

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले मुलुकमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रको रक्षाका लागि वामपन्थी शक्ति एकताबद्ध हुनुपर्ने बताउनुभएको छ । पार्टीको आजदेखि सुरु भएको केन्द्रीय कमिटी बैठकमा उहाँले लोकतान्त्रिक वाम शक्तिले राजनीतिक स्थिरता कायम गरी मुलुकलाई समाजवादतर्फ अगाडि बढाउन सक्ने बताउनुभयो ।

राजनीतिलाई विचारहीन, सिद्धान्तहीन र सस्ता नाराको खेल बनाउने प्रवृत्ति बढ्दै गएको उल्लेख गर्दै अध्यक्ष नेपालले समाजवादी कार्यदिशा भएको बलियो लोकतान्त्रिक शक्तिले मात्रै  प्रतिगमनवादीलाई हस्तक्षेप गर्न सक्ने बताउनुभयो । अहिलेको सङ्कटलाई सामना गर्ने वैचारिक सामर्थ्य आफ्नो पार्टीसँग रहेको उहाँको भनाइ थियो ।

पूर्व प्रधानमन्त्री समेत रहनुभएका अध्यक्ष नेपालले भूराजनीतिक दबाब बढ्दै गएकाले राष्ट्रिय हितका विरुद्ध अनेक षडयन्त्र हुनसक्ने खतरा औँल्याउनुभयो । राष्ट्रिय राजनीतिले एकपछि अर्को प्रतिकूलताको सामना गर्नुपरेकाले आर्थिक क्षेत्रमा समस्या गहिरिँदै गएको उहाँको भनाइ थियो । 

पार्टीका सम्मानित नेता झलनाथ खनालले मुलुकमा सङ्घीय लोकतान्त्रिक गणतन्त्र राजनीतिक विकास क्रमको उच्चतम उपलब्धि भएको बताउँदै यसको विकल्प खोज्न नहुने बताउनुभयो । उहाँले वैचारिक रुपमा निकट रहेका शक्तिलाई एकीकृत गरी सङ्गठनात्मक रूपले शक्तिशाली पार्टी निर्माण गर्नुपर्नेमा जोड दिनुभयो ।

यही पुस १३ गतेसम्म चल्ने बैठकमा विधान हेरफेरका लागि नेताको सुझाव सङ्कलन गरी मस्यौदामा छलफल गरिनेछ । आगामी माघ ११ गते हुने राष्ट्रियसभा निर्वाचनका लागि पार्टीका तर्फबाट उम्मेदवार छनोटका लागि मापदण्ड तय गर्नुका साथै बैठकमा सङ्गठन सुदृढीकरण रणनीति तय गरिने छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button