‘गाभरभ्याली’ एक सफल होमस्टे (फोटो फिचर)

बाँके । पारिवारिक वातावरणमा स्थानीय कला, संस्कृति र रीतिरिवाजको अनुभूति दिलाउन बाँके जिल्लाको बैजनाथ गाउँपालिकामा सञ्चालित गाभरभ्याली सामुदायिक होमस्टे सुरु भएकाे केही समयमै लोकप्रिय मात्र भइरहेको छैन यहाँको पर्यटन प्रर्वद्वन टेवा दिने एक आकर्षक गन्तव्य बनिरहेको छ ।
केही वर्ष अघि पर्यटन प्रवद्द्नको विकासमा केही भएपनि टेवा पुगोस् भनेर स्थानीय युवा कृष्ण चौधरिले सुरु गरेको होमस्टे व्यवसायले अहिले बाँके जिल्लालाई पर्यटकीय गन्तव्यस्थलको रुपमा सफल भएको छ। अहिले त्यहाँ ३७ वटा घरमा सामुदायिक होमस्टेका युनिटहरू रहेका छन् । आन्तरिक तथा बाह्य पर्यटकलाई होमस्टेको अवधारणाले आकर्षित गरिरहेको छ ।

छोटो समयमा पर्यटकीय क्षेत्रको पहिचान बनाउन सफल गाभर भ्याली बाँके राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रभित्र पर्दछ । खासगरी आन्तरिक पर्यटकको प्रमुख आकर्षणको केन्द्रबिन्दु रहेको गाभर भ्यालीमा मिश्रित परम्परामा आधारित बस्ती रहेको छ। यहाँ बालबालिकादेखि वृद्धसम्मको लागि खानपिनदेखि मनोरञ्जनको उचित व्यवस्था गरिएको छ। गाभरबाट चुरे पर्वतका मनोरम दृश्य देख्न सकिने गाभरभ्याली सामुदायिक होमस्टे व्यवस्थापन समितिका अध्यक्ष कृष्ण चौधरीको भनाई रहेको छ।

कृषि , प्रकृति र संस्कृतिको बारेमा अध्ययन र अवलोकन गर्न चाहनेहरूको लागि अहिले गाभरभ्याली प्रयोगशाला जस्तै भएको छ। यहाँ विभिन्न थारु संस्कृति झल्काउने परम्परागत हस्तकला र चित्रकला प्रयोग गरिएको छ। जसको कलाकारिता कैलालीका मिठ्ठु थारुले गरिरहनु भएको छ। उहाँले काठमाडौँ ललितकलामा अध्ययन गरे लगत्तै आफ्नो सिपको सदुपयोग गर्नु भएको हो।
मिठ्ठु थारुले बाँकेको गाभरभ्यालीमा मात्र नभएर अन्य क्षेत्रमा पनि आफ्नो कलाकारिता देखाउनु भएको छ । उहाँ आफैले अवलोकनमा आउनेलाई आफूले बनाएका हस्तकला र चित्रकलाको बारेमा बुझाउने गरिरहनुभएको छ ।

होमस्टे सञ्चालनपछि गाभरका स्थानीयको जनजीवनमासमेत परिवर्तन आएको छ । विगतमा कामको खोजीमा दौडिनुपर्ने स्थानीयको दैनिकी आजभोलि होमस्टे व्यवस्थापनमै बित्ने गरेको छ ।
गाउँमा होमस्टे स्थापनापछि गाउँलेको बोलीचाली, रहनसहनदेखि आर्थिक स्रोतमा नै उल्लेख्य परिवर्तन आएको छ भने पर्यापर्यटनमा समेत टेवा पुगेको देख्न सकिन्छ।









प्रतिक्रिया राख्नुहोस्