तपाईँ सुन्दै हुनुहुन्छः

खेलाडीहरूलाई होटलमा भन्दा आवास गृहमा राख्नु पर्छ: मन्त्री लिम्बु

पोखरा । नेपाल सरकारका युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बुले खेलाडीहरूलाई प्रशिक्षा गराउँदा आवास गृहमै राख्नु पर्ने बताउनु भएको छ । पोखराको बाराहीघाट खेल मैदानमा सोमबार बेलुका अबेर सम्पन्न भएको राष्ट्रिय स्तरको मुवाँथाई च्याम्पियनसिप प्रतियोगिताको समापनमा बोल्दै मन्त्री लिम्बुले खेलाडीहरूलाई होटलमा भन्दा अब आवास गृहमै राख्नु पर्नेमा जोड दिनुभयाे।

होटलमा खेलाडीहरूलाई राख्दा आर्थिक हिसाबले पनि धेरै खर्च हुने र होटलदेखि प्रशिक्षण स्थलसम्म जान आउन लगायतका विषयले गर्दा प्रशिक्षणलाई प्रभावकारी बनाउन पनि आवास गृह नै आवश्यक भएको उहाँको भनाई थियो । प्रधानमन्त्री तथा उपप्रधानमन्त्रीलाई खेलाडीहरूको प्रशिक्षण गराउँदा अब होटलमा राखेर नभई आवास गृहमै राखेर प्रशिक्षण गराउँदा राम्रो नतिजा ल्याउन सक्ने विषयमा कुरा गरेको मन्त्री लिम्बुले जनाउनु भयो ।

सरकारले मात्रै खेलकुद क्षेत्रको विकास गर्न नसक्ने उहाँको बताउनु भयो । नेपालले पछिल्लो समयमा विश्वमै खेलकुदबाट आफ्नो पहिचान बनाउन सफल भएको छ त्यो नेपालीहरूको लागि गौरवको विषय भएको उहाँको भनाई थियो । नेपालको सिर उच्चो पार्दै आफ्नो रगत र पसिना बगाउने खेलाडीहरूलाई सबैले मान सम्मान गर्न उहाँले आग्रह गर्नुभयो ।

खेलाडीहरूलाई प्राप्त गर्ने सुविधाहरूको विषयमा सरकार गम्भीर भएको मन्त्री लिम्बुले बताउनु भयो । अब बिस्तारै खेलाडीहरूका दुःख हट्दै जाने मन्त्री लिम्बुको भनाई थियो । उद्योगी व्यावसायीहरुले जसरी खेल क्षेत्रमा गरेको सहयोगको प्रशंसा गर्दै मन्त्री लिम्बुले यसलाई निरन्तरता दिन आग्रह गर्नु भयो ।

पूर्वदेखि पश्चिम, उत्तरदेखि तराई सातै प्रदेशमा खेलकुदको समान ढंगले पूर्वाधार निर्माण गरी समान ढंगले खेलकुदको विकास गर्न सरकारले चाहेको उहाँले बताउनु भयो । खेलाडीहरूले समान ढंगले सेवा सुविधा प्राप्त गर्न सकुन भनेर सरकारले हरेक वर्ष कार्यक्रम सञ्चालन गर्दै याे वर्ष दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता कर्णालीमा हुने गरी त्यहाँ भौतिक संरचनाको काम तीव्र गतिमा अघि बढेको मन्त्री लिम्बुले बताउनु भयो ।

गण्डकी प्रदेशका सामाजिक बिकास तथा स्वास्थ्य मन्त्री शुसिला सिंखडाले आगामी दिनमा पोखरासहित गण्डकी प्रदेशको खेलकुद क्षेत्रलाई अझ भव्य र सभ्य बनाउँदै खेलकुद क्षेत्रमा धेरै सुधार गर्दै लैजाने बताउनु भयो । प्रदेश खेलकुद परिषद् गण्डकीका उपाध्यक्ष धोजकुमार गुरुङको अध्यक्षतामा उक्त कार्यक्रम सोमबार बेलुका अबेर सम्पन्न भएको हो ।

प्रदेश खेलकुद परिषद् गण्डकीको आयोजना तथा नेपाल मुवाँथाई अर्गनाइजेसनको संयोजनमा उक्त प्रतियोगिता भएको प्रतियोगिता संयोजक खगेन्द्र क्षेत्रीले बताउनु भयो । प्रतियोगितामा नेपालका १९ क्लबका ३२ जना व्यावसायिक फाइटरहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button