तपाईँ सुन्दै हुनुहुन्छः

त्रिभुवन आर्मीले भारतको युपी ११ लाई ६५ रनले हरायो

वीरगञ्ज । वीरगञ्जको नारायणी रङ्गशालामा जारी प्रो क्लब च्याम्पियनसिप टी–२० क्रिकेट प्रतियोगिता अन्तरगत आज भएको दोस्रो खेलमा त्रिभुवन आर्मी क्लबले भारतको युपी ११ लाई ६५ रनले हराएको छ ।

त्रिभुवन आर्मीले भारतको युपी ११ लाई १ सय ३३ रनको लक्ष्य दिएकोमा युपी एघार १४.३ ओभरमा ६७ रनमा अलआउट भएपछि त्रिभुवन आर्मी ६५ रनले विजयी भएको हो ।

सम्पन्न खेलमा युपी ११ का खेलाडी अल्तमास आलमले २१ बलमा १६ रन बनाएका थिए । यसैगरी, शुभम चौधरीले १५ बलमा ११ रन, जयदीप सिंहले १२ बलमा ११ रन र तरुण कुमारले आठ बलमा १२ रन बनाएका थिए ।

प्रतियोगितामा आर्मीका बलर पवन कार्की र साहब आलमले समान तीन–तीन विकेट लिएका थिए । आर्मीका अर्का बलर सोमपाल कामी र बसिर अहमदले दुई–दुई विकेट लिएका थिए । सोमपालले तीन ओभरमा १४ र बसिरले १.३ ओभरमा दुई रन दिएका थिए ।

यसअघि ब्याटिङ गरेको आर्मीले युपी ११ लाई एक सय ३३ रनको लक्ष्य दिएको थियो । १९.५ ओभरमा अलआउट हुँदै आर्मीले एक सय ३२ रन जोडेको थियो ।

आर्मीका लागि सन्तोष कार्कीले ३२ बल खेल्दै सर्वाधिक ४४ रन बनाए । भीम सार्कीले २३ बलमा २३ रन, साहब आलमले १७ बलमा २२ रन र बसिर अहमदले १४ बलमा १४ रन जोडेका थिए ।

युपी ११ का बलर वासी अन्सारीले चार ओभरमा १० रन दिएर तीन विकेट लिँदा सहिम अहमदले २.५ ओभरमा २१ रन दिएर दुई विकेट लिएका थिए । यसैगरी, अहमद अन्सारीले चार ओभरमा दुई विकेट लिँदै ३१ रन खर्चिएका थिए । यस अघि आजै भएको पहिलो खेलमा वन्डर क्लब नोयडा भारतले सशस्त्र प्रहरीलाई आठ विकेटले पराजित गरेको थियो ।

पहिले ब्याटिङ गरेर सशस्त्रले दिएको १ सय ४५ रनको लक्ष्य नोयडाले १६.२ खेल्दै दुई विकेटको क्षतिमा पूरा गरेको थियो ।

प्रतियोगितामा नेपालका तीन विभागीय टोली आर्मी, पुलिस र एपिएफ सहित पर्सा ११ तथा भारतको युपी ११ र वन्डर्स क्लब नोइडा प्रतिस्पर्धामा रहेका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button