विकल वाङ्मय पुरस्कार प्रा.डा. वासुदेव त्रिपाठीलाई
काठमाडौँ । रमेश विकल साहित्य प्रतिष्ठानले यस वर्ष (२०८०) को रमेश विकल वाङ्मय पुरस्कार प्रा.डा वासुदेव त्रिपाठीलाई प्रदान गरेको छ ।
शनिवार प्रतिष्ठानले विकलको पुर्ख्यौली थलो आरुबारी (हाल गोकर्णेश्वर—९) मा १५ औँ विकल स्मृति सभाको अवसरमा नेपाली वाङ्मयका विशिष्ट साधक त्रिपाठीलाई सम्मान गरेको हो । पुरस्कारको राशि नगद ५० हजार रहेको छ ।

सोही अवसरमा विकलका नाममा स्थापित अन्य पुरस्कारहरू पनि विभिन्न स्रष्टा तथा संस्थालाई प्रदान गरियो । जस अनुसार रमेश विकल–सुशीला समाजसेवा पुरस्कार परोपकार संस्था, काठमाडौँलाई प्रदान गरिएको छ । यो पुरस्कारको राशि २० हजार रहेको छ । यसैगरी रमेश विकल सृजना पुरस्कार माधव काफ्ले (रौतहट) लाई प्रदान गरियो भने रमेश विकल बाल साहित्य पुरस्कार रामबाबु सुवेदी (कास्की) लाई दिइयो ।
साथै रमेश विकल–सुशीला सङ्घर्षशील नारी पुरस्कार सत्यदेवी खड्का (दैलेख) ले हात पार्नुभयो भने रमेश विकल कला–सङ्गीत पुरस्कार कलाकार सुवास गजुरेललाई प्रदान गरियो । यी सबै पुरस्कारको राशि नगद १० हजार रहेको छ ।

प्रतिष्ठानका उपाध्यक्ष तथा कार्यक्रमका सभाध्यक्ष के.के. कर्माचार्य, सर्वोच्च अदालतका न्यायाधीश डाक्टर मनोज कुमार शर्मा लगायतले स्रष्टा तथा संस्थाहरूलाई पुरस्कार प्रदान गर्नुभएको थियो । कार्यक्रममा प्रतिष्ठानका उपाध्यक्ष प्रा.डा. हेमनाथ पौडेल, पुरस्कृत स्रष्टा प्रा.डा वासुदेव त्रिपाठी, अभिनव साहित्य समाजका संस्थापक अध्यक्ष गोविन्दप्रसाद घिमिरे ‘वेदमणि’ लगायतले अमर स्रष्टा रमेश विकलले साहित्य सहित विविध क्षेत्रमा दिनुभएको योगदानको चर्चा गर्नुभएको थियो ।
सोही अवसरमा प्रतिष्ठानको वृद्धि विकासमा स्थापनाकाल देखि नै योगदान दिने संघीय सांसद तथा अर्थ समितिका सभापति सन्तोष चालिसे, पूर्व मन्त्री रामेश्वर फुयाँल र गोकर्णेश्वर नगरपालिकाका प्रमुख दीपक रिसाललाई सम्मान गरिएको थियो ।
यसैबीच प्रतिष्ठानको शनिवार नै सम्पन्न १७ औँ साधारण सभाले वरिष्ठ साहित्यिक पत्रकार रोचक घिमिरेको अध्यक्षतामा प्रतिष्ठानको नयाँ कार्य समिति निर्विरोध चयन गरेको छ । जस अनुसार कार्य समितिको उपाध्यक्ष द्वयमा के.के. कर्माचार्य, प्रा.डा हेमनाथ पौडेल, महासचिवमा विजय चालिसे, सचिवमा वसन्त रिजाल र कोषाध्यक्ष शाम्बकुमार चालिसे रहनुभएको छ । सदस्यहरूमा महेन्द्र चालिसे, मुना रुपाखेती, मातृका पोखरेल, रामप्रसाद पौडेल र आलोक चालिसे रहनुभएको छ ।






प्रतिक्रिया राख्नुहोस्