मुलुकको तीव्र विकासका लागि डिजिटल पूर्वाधारमा लगानी बढाउनुपर्छ: मन्त्री शर्मा

हिले (धनकुटा) । सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले मुलुकको तीव्र विकासका लागि डिजिटल पूर्वाधारमा लगानी बढाउनुपर्ने बताउनुभएको छ ।
मध्य पहाडी राजमार्गअन्तर्गत कोशी खण्डअन्तर्गत धनकुटाको हिले एक्सचेन्ज सेन्टरमा सूचना महामार्ग अप्टिकल फाइवर नेटवर्क उद्घाटन गर्दै उहाँले देश विकासका लागि डिजिटलाइजेसन आवश्यक रहेको र डिजिटलाइजेसनका लागि डिजिटल पूर्वाधारको विकास अनिवार्य रहेको बताउनुभयो ।
नेपाल दूरसञ्चार प्राधिकरणको ग्रामीण दूरसञ्चार विकास कोषको लगानीमा नेपाल टेलिकमले ६८३ किलोमिटर सडकमा अप्टिकल बिछ्याइएपछि यो खण्डमा सूचना महामार्ग तयार भएको हो । यो महामार्गको सहप्रयोगबाट जुनसुकै इन्टरनेट सेवा प्रदायक कम्पनीले पनि इन्टरनेट सेवा विस्तार गर्न पाउने छन् ।

मन्त्री शर्माले यो आयोजना मध्य पहाडी लोकमार्गको सबै खण्डमा विस्तार गरिने जानकारी पनि दिनुभयो । माओवादी सरकारमा आएपछि सुरु भएको मध्य पहाडी लोकमार्ग गणतन्त्र नेपालको उपहार भएको उल्लेख गर्दै मन्त्री शर्माले मध्य पहाडी राजमार्गलाइ लक्षित गरेर निर्माण गरी सञ्चालनमा ल्याइएको यो सूचना महामार्गले मध्य पहाडी राजमार्ग परियोजनालाई पूर्णता दिँदै मध्य पहाडी क्षेत्रका बासिन्दालाई दूरसञ्चारको मूल प्रवाहमा जोड्ने सरकारले विश्वास लिएको बताउनुभयो ।
सरकारले सूचना प्रविधिको विकास र प्रयोगलाई उच्च प्राथमिकतामा राखेको जानकारी दिँदै उहाँले सूचना प्रविधिको आधारभूत पूर्वाधार दूरसञ्चार नै भएको उल्लेख गर्नुभयो ।यसमा पनि अझ अप्टिकल फाइवरमा आधारित फाइवर टु द होम सेवा विस्तारलाई जोड दिएको उल्लेख गर्दै मन्त्री शर्माले यो वर्षमा मात्रै सरकारले ताप्लेजुङ, बझाङ, बाजुरा, रुकुम पश्चिम, जुम्ला र कालीकोटमा सेवा विस्तार गरेर (एफटिटिएच पुगेका जिल्लाको सङ्ख्या ७३ पुर्याएको जानकारी दिनुभयो ।
नेपाल टेलिकममार्फत प्रारम्भ गरिएको फोरजी सेवा ७३९ स्थानीय तहमा पुर्याइएको र देशको कूल ६७ प्रतिशत क्षेत्रमा फोरजी सेवा विस्तार गरिएको जानकारी दिँदै उहाँले यसलाई शत प्रतिशत क्षेत्रमा विस्तार गर्न आवश्यक रहेको बताउनुभयो । सेवा विस्तारसँगै सेवा गुणस्तर कायम गर्नु अर्को अनिवार्य सर्त भएको औँल्याउँदै उहाँले नेपाल टेलिकमबाट वितरण भएका सम्पूर्ण सेवाहरूको मर्मत सम्भारलाई थप चुस्त र प्रभावकारी बनाउन बिहान ७ देखि साँझ ७ बजेसम्मको मर्मत सेवा सञ्चालन गर्ने व्यवस्था मिलाइएको जानकारी दिनुभयो ।
मन्त्री शर्माले नेपाल टेलिकमबाट वितरण भएका सम्पूर्ण सेवाहरूलाई नमुना दूरसञ्चार सेवाको रूपमा विकास गर्नका लागि १९ जिल्लालाई छनौट गरी पूर्वाधार विस्तार, सेवाको पहुँच, सेवाको गुणस्तर, मर्मत सम्भार सेवाको वितरण प्रभावकारी बनाउने व्यवस्था मिलाइएको र यो नमुना जिल्ला कार्यक्रमले ती जिल्ला मात्र होइन, आसपासका जिल्लाहरूमा पनि सेवा सुधार गर्न सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
उहाँले दूरसञ्चार क्षेत्रमा देखिने बेथिति र अन्योल हटाउन नीति र प्रशासनिक दुबै खालका काम अघि बढाइएको र नयाँ फ्रिक्वेन्सी नीति २०८० जारी गरेर नेपालको विकासमा अत्यावश्यकीय र राष्ट्रलाई महत्त्वपूर्ण योगदान दिने दूरसञ्चार क्षेत्रलाई थप व्यवस्थित गर्ने गरी अघि बढाइएको जानकारी दिनुभयो ।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव एवं नेपाल दूरसञ्चार कम्पनीका अध्यक्ष कृष्णबहादुर राउतको अध्यक्षता भएको कार्यक्रममा नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनाल, नेपाल टेलिकमका निमित्त प्रबन्ध निर्देशक सङ्गीता पहाडी, धनकुटाका प्रमुख जिल्ला अधिकारी पुण्यबिक्रम पौडेललगायतले बोल्नुभएको थियो ।








प्रतिक्रिया राख्नुहोस्