तपाईँ सुन्दै हुनुहुन्छः

नेपालमा ४४ प्रतिशत बिमाको पहुँच पुगेको अध्यक्ष सिलवालको दाबी 

पोखरा । नेपाल बिमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले नेपालमा ४४ प्रतिशत बिमाको पहुँच भएको बताउनु भएको छ । लिबर्टी माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडको आज (शुक्रबार)  औपचारिक समुद्घाटन र लघु बीमा सेवा शुभारम्भ कार्यक्रमको शुभारम्भ गर्दै अध्यक्ष सिलवालले नेपालमा बिमाको पहुँच ४४ प्रतिशतसम्म पुगेको दाबी गर्नु भएको हो ।     

कुनै न कुनै रुपमा बिमा सानो ठुलो गरी उक्त प्रतिशतमा नेपालमा बिमाको पहुँच भएको बताउँदै उहाँले कुनै घटना तथा दुर्घटनाबाट हुनसक्ने जोखिमको व्यवस्थापनको लागि मानव जीवनमा बिमा आवश्यक भएको जनाउनु भयो । आफूहरूले ठुला बिमा कम्पनीहरूलाई माइक्रो बिमा समेत गर्न आग्रह गर्दा उनीहरूबाट खासै माइक्रो लेबलको बिमा नआएकोले माइक्रो बिमा सातै प्रदेशमा स्थापना गर्न लागेको अध्यक्ष सिलवालले बताउनु भयो । 

जो गरिब छ जसले अन्य व्यक्तिहरू सरह पैसा बचत गर्न जान्दैन उहाँहरूको लागि सानो बचतले जोखिम व्यवस्थापन गर्ने यस्ता माइक्रो बिमा नेपालको लागि निकै आवश्यक भएको उहाँको भनाई छ । कर्णाली प्रदेशमा सरकारले १८ लाख जनताको बिमा गरेका कारा यस बर्ष गएको भूकम्पमा परी ज्यान गएका वा घाइते भएकाहरूको लागि केही आर्थिक सहायता भएको अध्यक्ष सिलवालले बताउनु भयो । सिमान्तकृत, अति गरिब परिवारको बिमाको लागि स्थानीय वा राज्यले यसलाई अबलम्बन गर्नुपर्ने उहाँको भनाई थियो । सरकारले एक घर एक बिमा नीति ल्याएको बताउँदै सिलवालले आम नेपाली जनताको पहुँचमा बिमाको पहुँच पुराउनु पर्नेमा जोड दिनु भयो । 

प्राधिकरणका कार्यकारी अधिकृत राजु रमण पौडेलले प्रदेशमा स्थापना हुने माइक्रो बिमा कम्पनीले आम सर्वसाधारण जनताको पहुँचमा बिमाको पहुँच पुग्ने विश्वास व्यक्त गर्नु भयो । घुम्ती बिमा कार्यक्रम गरेर भए पनि गाउँ गाँउमा बिमाको पहुँच पुर्‍याउन उहाँले आग्रह गर्नु भयो ।  

प्राधिकरण गण्डकी प्रदेशका प्रमुख केशव दाहालले विकटमा बिमाको पहुँच पुर्‍याउनु पर्नेमा जोड दिनु भयो  । घुम्ती बिमा कार्यक्रम समेत सञ्चालन गर्न उहाँले कम्पनीलाई आग्रह गर्नु भयो । हिमालयन लाइफ इन्स्योरेन्सका मनोजलाल कर्ण, नेपाल विमक संघका अध्यक्ष पोसकराज पौडेल, पोखरा २७ का वडा अध्यक्ष पूर्ण बहादुर गुरुङ, पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष पवनकुमार प्रजापति, पोखरा विश्वविद्यालयका प्राध्यापक रविन्द्र घिमिरेले बिमाको महत्वको विषयमा चर्चा गर्नु भएको थियो । 

लिबर्टी माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडका अध्यक्ष निकोलस पाण्डेले समाजमा समृद्धि ल्याउन र गरिब तथा विपन्न वर्गका व्यक्तिलाई लक्षित गरी उक्त बिमा कम्पनी गण्डकी प्रदेशको राजधानी पोखरामा प्रधान कार्यालय रहने गरी स्थापना गरिएको बताउनु भयो । 

कम्पनीका सिईओ रामकुमार यादवले उक्त कम्पनीको एक अर्बको अधिकृत पुँजी भएको बताउनु भयो । न्यूनतम एक व्यक्तिको १ सय ३२ रुपैयाँले एक बर्ष एक लाखको बिमा जोखिम बहन गर्ने भएको संस्थाका एक्जुकेटिभ सेल्स एड मार्केटिङ अमृतराज यादवले बताउनु भयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button