तपाईँ सुन्दै हुनुहुन्छः

पूर्व मन्त्री न्यौपानेको निधन

मान्म (कालीकोट) । नेपाल सरकारका पूर्व सूचना तथा सञ्चार सहायक राज्यमन्त्री यज्ञराज न्यौपानेको निधन भएको छ । 

कलेजो रोगले ग्रसित न्यौपानेको उपचारका क्रममा आज बिहान ४ बजे भक्तपुरस्थित मानव अङ्ग प्रत्यारोपण केन्द्रमा निधन भएको हो । 

मिर्गौला रोग पीडितसमेत रहनुभएका पूर्व मन्त्री न्यौपानेको उपचारका क्रममा अस्पतालमै निधन भएको उहाँका आफन्त रहनुभएका अधिवक्ता उमाकान्त न्यौपानेले बताउनुभयो । उहाँका अनुसार न्यौपानेको तीन महिनादेखि भक्तपुरको मानव अङ्ग प्रत्यारोपण केन्द्रमा उपचार भइरहेको थियो । 

दुई छोरा र तीन छोरी रहेका न्यौपानेका एक छोरा दुबईमा रहनुभएकाले उहाँ दुबईबाट नेपाल फर्केपछि पशुपति आर्यघाटमा दाहसंस्कार गरिने न्यौपानेले जानकारी दिनुभयो । 

विसं २०५१ मा कालिकोटमा नेकपा (एमाले)बाट प्रतिनिधिसभामा निर्वाचित न्यौपाने सूचना तथा सञ्चार सहायक राज्यमन्त्री हुनुभएको थियो ।

कालीकोटको रास्कोट नगरपालिका–८ को फुकोट गाउँमा जन्मिनुभएका न्यौपाने साबिकको फुकोट गाउँ विकास समितिको अध्यक्षमा समेत निर्वाचित हुनुभएको थियो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button